
काठमाडौं : हिमालय टिभीबाट प्रसारण हुँदै आएको चर्चित सांगीतिक रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरले जितेकी छन्। दैलेखको गुराँस गाउँपालिका–५ की नीताले कोच राजु लामाको टिमबाट प्रतिस्पर्धा गर्दै ऐतिहासिक सफलता हात पारेकी हुन्।
‘भ्वाइस अफ नेपाल’ को इतिहासमा उपाधि जित्ने उनी पहिलो महिला प्रतिस्पर्धी बनेकी छन्। शनिबार सम्पन्न भव्य ग्रान्ड फिनालेमा उनले दर्शकको अपार मत र उत्कृष्ट प्रस्तुतीका आधारमा उपाधि उचालेकी हुन्। फाइनलमा उनको भावपूर्ण गायनले हल तालिले गुन्जिएको थियो।
यस सिजनका अन्य प्रतिस्पर्धीमध्ये कोच खेम सेन्चुरीका प्रतिस्पर्धी सागर संसार राई प्रथम उपविजेता घोषित भए भने टिम प्रमोद खरेलकी प्रतिस्पर्धी पुनम गुरुङ द्वितीय उपविजेता बनिन्। टिम मेलिना राईकी प्रतिस्पर्धी सञ्जिता दुरा तृतीय उपविजेतामा सीमित भइन्।
ग्रान्ड फिनालेमा हिमालय टिभीका अध्यक्ष धर्मराज भुसाल र कार्यकारी निर्देशक श्याम कँडेलले विजेता तथा उपविजेताहरुलाई पुरस्कार वितरण गरेका थिए। विजेता नीताले नगद पुरस्कार, ट्रफी तथा अन्य आकर्षक उपहार प्राप्त गरिन्।
सुरुवाती अडिसनदेखि नै सशक्त स्वर, आत्मविश्वास र मञ्च नियन्त्रणका कारण चर्चामा रहेकी नीताले हरेक चरणमा निर्णायक र दर्शकको मन जित्दै अन्ततः उपाधि आफ्नो नाममा लेखाएकी हुन्। कोच राजु लामाले नीताको जितलाई टिमको सामूहिक सफलता भन्दै उनको मेहनत, अनुशासन र संगीतप्रतिको समर्पण नै सफलताको आधार भएको बताएका छन्।
शुक्रबार र शनिबार प्रसारित फिनाले एपिसोडमा यस सिजनका अन्य ट्यालेन्टहरूले पनि आकर्षक प्रस्तुति दिँदै कार्यक्रमलाई भव्य बनाएका थिए।
दैलेखबाट राष्ट्रिय मञ्चसम्म पुगेर ऐतिहासिक जित दर्ता गरेकी नीताको सफलताले सिंगो जिल्लावासीमा गर्व र खुसीको माहोल छाएको छ। उनको यो उपलब्धिलाई नेपाली सांगीतिक क्षेत्रमा नयाँ उचाइको सुरुवातका रूपमा हेरिएको छ।