अम्बु बिहानीका शब्द, बबिना भट्टराईको स्वर तथा संगीतमा गजल ‘ फकायौ’ सार्वजनिक ( भिडियो सहित )

काठमाडौंः नेपाली सुगम संगीत र भक्ति संगीतमा अगाडि बढ्दै गरेकी उर्जाशिल गायिका तथा संगीतकार बबिना भट्टराईको स्वरमा सजिएको ‘कति धेरै कुरा भनेर फकायौ’ प्रेमिल गजल सार्वजनिक भएको छ । गजलकार अम्बु बिहानीका मार्मिक शब्दले सिंगारिएको उक्त गजल बबिना भट्टराईकै अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ । गजल ‘फकायौ’ ले यहाँ माया गरेको, मन जितेको, जीवनलाई अर्थपूर्ण बनाएको भावको सुन्दर अभिव्यक्ति हो । साच्चै तिमीले फकाएर मेरो मनलाई आफ्नो बनायौ, मलाई सपना, विश्वास, समर्पण र सधैंको लागि साथ दियौ । यो फकाई छलकपटको लागि हुदै होइन यो फकाई त प्रेमको अमर जादु हो जसले दुई हृदयलाई एक बनाइदियो सधै सधैंका लागि । यी गजलका शेरहरूले प्रेमको मधुर आरम्भ, त्यसको मोहक विस्तार र अनुभूति बोकेका छन् । गजल ‘फकाएर’ ले प्रेममा गरिएको मनोवैज्ञानिक खेल, मीठो आश्वासन र त्यसपछि आउने अनुभूतिजन्य चोटलाई उजागर गरेको छ ।

mostbet

कति धेरै कुरा भनेर फकायौ
यी हातका चुरा गनेर फकायौ ।
गजलको यो शेर मार्फत प्रेमीले असंख्य मीठा शब्द, वाचा र आश्वासन मार्फत मन जित्ने प्रयास गरेको छ “फकाउनु” केवल सामान्य संवाद होइन गहिरो भावना पनि हो । चुरा नारीको सौभाग्य, सपना र वैवाहिक आकांक्षासँग जोडिएको प्रतीक पनि हो । एउटी नारीको ‘हातका चुरा’ केवल गहना मात्र होइनन् ती प्रेमका वाचा, समयका क्षण र सम्बन्धका साक्षी पनि हो । यहाँ प्रेमीले प्रेमिकाको वा एउटा विवाहित नारीको श्रीमान्‌ले उनको हातका चुरा गन्नु भनेको भविष्यका दिनहरू गन्नु, सँगै बिताउने समयको कल्पना गर्नुको रुपमा पनि लिन सकिन्छ । गजलका शेरहरूले प्रेमको मीठो फकाई, विश्वासको बनावट र मनको समर्पणलाई अत्यन्तै कोमल ढंगले प्रस्तुत गरेका छन् । गजलको यो शेरले प्रेममा प्रयोग हुने स–साना बहानादेखि आत्मीय संवादसम्मको भावलाई चित्रित गरेको छ ।

गढ्यो माया यसरी अब के भनूँ
सुम्पी मन दास बनेर फकायौ !
गजलको यो शेरले प्रेममा पूर्ण समर्पण र आत्मनिवेदनको भाव उजागर गरेको छ । प्रेमले कसरी कठोर मनलाई पनि कोमल बनाइदिन्छ भन्ने अनुभूति गजलभरि बहिरहेको पाइन्छ ।
यस शेरमा प्रेमको गहिराई र आत्मसमर्पण गहिरो रुपमा व्यक्त भएको छ । माया आफैंले आफ्नो अस्तित्व निर्माण गर्‍यो, माया ढुङ्गामा मूर्ति कोरेजस्तो गहिरो रूपमा स्थापित भयो । यो शेर अत्यन्त मार्मिक छ, प्रेममा व्यक्तिले आफ्नो स्वतन्त्रता, निर्णयशक्ति र अहंकार सबै त्यागेर आफूलाई समर्पित गरिदिन्छ । यहाँ प्रेम बराबरीको सम्बन्ध नभएर दासत्वजस्तो भएको अनुभूति छ । यहाँ प्रेम यति समर्पित भावमा पोखिएको छ कि जसरी भगवान श्रीकृष्ण प्रति मीरा समर्पित थिइन्, उनले आँफूलाई कृष्ण भक्ति र प्रेममा चुलुम्म डुवाएकी थिइन् अनि यति समर्पित थिइन् कि आँफूलाई उनी कृष्णको दासी सम्झन्थिन् । यहाँ ‘दासी’ शब्दकोषले दिने अर्थ ‘सेविका’ मा मात्र सिमित छैन, यहाँ यहाँ ‘दासी’ शब्दले पूर्ण समर्पण, आत्मिक प्रेम, आँफूलाई पूर्ण रुपमा अर्पित भाव, र प्रेमको चरम सपर्मण, अहंकाररहित भाव, आत्मसमर्पणको उच्चतम् अवस्थालाई चित्रित गर्दछ । यहाँ ‘दासी’ त्याग र प्रेमको पराकष्टा हो । यहाँ ‘दासी’ यो शब्द प्रेमिल सम्वन्ध र भावनाको जटिल संरचनालाइृ बुझाउने गहिरो प्रतीक हो ।

थिएन सहज सँगै हिँड्नलाई
मूलबाटो प्रेमको खनेर फकायौ !

प्रेमको यात्रा सहज हुदै हुँदैन । प्रेममा विभिन्न अवरोधहरु सृजना भइरहन्छन् भन्ने सत्यलाई यो शेरले स्वीकार गर्दछ । प्रेमको मूलबाटो खन्नु भनेको अवरोध, सामाजिक दबाब, दूरी वा परिस्थितिका कठिनाइहरू पार गर्न नयाँ मार्ग निर्माण गर्नु हो। प्रेमीले ती सबै कठिनाई हटाएर साथ दिने आश्वासन दिएको छ । यहाँ प्रेमलाई यात्रा र बाटोसँग तुलना गरिएको छ जसले सम्बन्धको प्रक्रियात्मक र संघर्षपूर्ण स्वरूपलाई देखाउँछ। जीवनको बाटो सजिलो थिएन, काँडा र अवरोधले भरिएको थियो तर तिमीले प्रेमको मुख्य बाटो नै खनिदियौ फराकिलो, उज्यालो, सधैं सँगै हिँड्न लायक बनाइदियौ । तिमीले जुन बाटो बनायौ त्यसमा हामी दुवै हात समातेर हिँडिरहेका छौं, यो फकाइले हामीलाई सधैंभरि जोडिराख्यो एउटा अद्भुत प्रेमिल यात्रामा ! प्रेम कुनै सहज यात्रा होइन, तर चाहनाले आफैं बाटो निर्माण गर्न सक्ने शक्ति भएको सन्देश पनि गजलको यो शेरले दिन्छ ।
नयनमा सजाई सपनाको घर
विश्वासको माला उनेर फकायौ !
तिमीले मेरो आँखामा सपनाको सानो सानो घर सजाइदियौ जहाँ हाँसो छ, माया छ, सँगै अरु धेरै कुराहरु पनि छन् जो तिमी संगै जोडिएका छन् । तिमीले मेरो गलामा विश्वासको माला उनेर लगाइदियौ जुन मालाका हरेक दानाले तिम्रो सच्चाई र हाम्रो बन्धन बोकेको छ । यो माला कहिल्यै नओइलाउने फूलहरूले बनेको छ जसले मलाई सधैं तिम्रै याद दिलाइरहनेछ । तिम्रो यो फकाइले मलाई सपना र विश्वास दुवै दिएर मेरो जीवनलाई पूर्ण बनायौ । गजलको यो शेरले प्रेमको आधार विश्वास नै हो भन्ने सत्यलाई काव्यमय ढंगले प्रस्तुत गरेको छ॥ यो शेरमा भविष्यका रंगीन कल्पना, सँगै बस्ने घर, साझा जीवनको आकांक्षा सबै आँखा भित्र सजिएको छ । आँखा यहाँ आत्माको ऐना मात्र होइन, भविष्यको चित्र बनाउने क्यानभास बनेको पनि छ । विश्वासको माला अर्थात् एकएक मोती जस्तै विश्वासका क्षणहरूलाई गाँस्दै सम्बन्धलाई पवित्र बनाउनु हो ।

ड्रिम्स स्टुडियोमा रेकर्ड गरिएको गजल ‘फकाएर’ को एरेन्ज सञ्जय श्रीपालले गरेका हुन् भने रेकर्डिङ विप्लव अधिकारीले गरेका छन ्। गजलको मिक्सिङ तथा मास्टरिङ प्रकाश के.सी.ले गरेका हुन् । समग्र संयोजनले गजललाई मधुर र परिष्कृत ध्वनि प्रदान गरेको छ । गजल ‘फकायौ’ को भिडियोमा बबिना भट्टराई र यसराज ग्रचको प्रेमिल अभिनयले शब्द र स्वरको भावलाई जीवन्त बनाएको छ । भिडियोमा दुवैको अभिव्यक्तिमा सहजता र आत्मीयता देखिन्छ जसले दर्शकलाई आफ्‌नै प्रेमिल कथा भित्रै डुबाउन सफल भएको छ। नजर, मुस्कान र मौन संवादमार्फत उनीहरूले प्रेमको सूक्ष्म भावलाई प्रभावकारी ढंगले प्रस्तुत गरेका छन् ।

गजल ‘फकायौ’ लाई प्रेमिल दृष्टिकोण बाट हेर्दा यो प्रेमको गहिरो जादु, समर्पणको मिठास र एकअर्कालाई पूर्ण रूपमा प्रभावित पार्ने शक्तिको उत्सव जस्तो अनूभुति हुने गर्दछ । यहाँ एउटा प्रेमीले आफ्‌नी प्रेमिकालाई गहिरो प्रेमले लठ्याउने, मन मोहित पार्ने, हृदयलाई आफूतिर तान्ने दिव्य कला प्रस्तुत गरेको छ । प्रेमीले गरेको हरेक काम प्रेमिकाको लागि अनमोल उपहार बन्छ जसले उनको जीवनलाई रंगीन, सपनामय र पूर्ण बनाइदिन्छ । शब्द, स्वर, संगीत र अभिनयको सन्तुलित मेलले गजल ‘फकाएर’ समकालीन प्रेमिल गजलहरूको सूचीमा विशेष बनाएको छ। दर्शक–श्रोतामाझ यो गजलले प्रेमको कोमल तर गहिरो अनुभूति जगाउने विश्वास गरिएको छ।

ग्जल ‘फकायौ’ को सुरुवातमा प्रेमिका र प्रेमीको एउटा मधुर सम्वाद रहेको छ जुन सम्वाद अरु कसैलाई नदिइकन भिडियोमा प्रेमी प्रेमिकाको भूमिकामा रहेका बबिना र यसराजको स्वर रहेको छ :
प्रेमिका : तिम्रो कुरा सुनेर त कहिल्यै सकिँदैन.. के के हो के के ….
प्रेमी : साँच्चै भनेको के मैले, तिम्रो साथ म जुनीभर हर बाधाहरू पन्छाएर तिमीलाई ह्दय भरि समेटेर रहन सकूँ । आकाशको जून तारा त झार्न सक्दिन म तर तिम्रो आँखाबाट आँसु झर्न चाहिँ दिन्न म अम्बु…

प्रेम केवल शब्दको आदान–प्रदान होइन, त्यो दुई आत्माबीचको मौन सम्झौता हो । जब प्रेमिका मुस्कुराउँदै भन्छिन् “तिम्रो कुरा सुनेर त कहिल्यै सकिँदैन… के के हो के के…” — सुन्दा गुनासो जस्तो सुनिए पनि पनि यो प्रेमिकाको भित्रभित्रै आनन्दले भरिएको स्वीकारोक्ति हो । उनले आफ्‌नो प्रेमीका शब्दहरूमा आफ्नो संसार भेटेकी छिन् त्यसैले ती शब्दहरू कहिल्यै टुंगिन नदिने उनको भित्री चाह रहेको छ ।

प्रेमीको उत्तरमा पनि केवल प्रतिज्ञा मात्र छैन, एउटा समर्पित मनको निःस्वार्थ भाव छ । ऊ भन्छ : “साँच्चै भनेको के मैले, तिम्रो साथ म जुनीभर हर बाधाहरू पन्छाएर तिमीलाई हृदयभरि समेटेर रहन सकूँ ।” ऊ आफ्‌नो प्रेम क्षणिक आकर्षण होइन, दीर्घकालीन समर्पण भएको बताउँछ । जीवनका बाटाहरूमा आउने कठिनाइहरूलाई हटाएर सँगै हिँड्ने दृढता नै साँचो प्रेमको आधार हो ।

प्रेमीले अझ भन्छ “आकाशको जून तारा त झार्न सक्दिन म, तर तिम्रो आँखाबाट आँसु झर्न चाहिँ दिन्न म अम्बु” उसको यो भनाईमा प्रेमको यथार्थवाद र संवेदनशीलता दुबै देखिन्छ । उसले असम्भव वाचा गर्दैन सम्भव र आवश्यक प्रतिज्ञा गर्छ । आकाशका तारा झार्नु कल्पना मात्र हो, तर प्रियजनको आँसु पुछ्नु जीवनको वास्तविक जिम्मेवारी हो । प्रेम यहींनिर महान् हुन्छ— जब सपना र यथार्थको सन्तुलनमा उभिएर एकअर्काको सुख–दुःखलाई आफ्नै मानिन्छ ।

यो सम्वादमा प्रेमिकाको स्नेहिल मुस्कान र प्रेमीको दृढ शब्दबीच एउटा अदृश्य डोरी बाँधिएको छ । त्यो डोरी विश्वास । प्रेमिका जान्दछिन् आफ्‌नो प्रेमीका शब्दहरू केवल हावामा उड्ने वाचा होइनन्, हृदयमा रोपिएको प्रतिबद्धता हुन् । प्रेमी पनि जान्दछ— उसको अस्तित्व अब केवल आफ्नो लागि होइन, प्रियाको मुस्कानका लागि पनि हो ।

यस सुन्दर संवादले देखाउँछ कि प्रेम भव्य उपहार वा असम्भव चमत्कारमा होइन सानातिना संवेदनामा जीवित रहन्छ । एकअर्काको आँसु नझर्न दिने संकल्प नै सबैभन्दा ठूलो तारा हो, जुन हृदयको आकाशमा सधैं चम्किरहन्छ ।

अन्ततः समग्र गजल भित्रको यो संवाद प्रेमको कोमल तर शक्तिशाली स्वर हो जहाँ शब्दहरू लामो छन्, तर भाव अझ गहिरो । जहाँ वाचा साधारण छन् तर अर्थ असाधारण । यही सादगी र समर्पणमै प्रेमको वास्तविक सौन्दर्य लुकेको हुन्छ । थ.गजल प्रेमिल रहेको गजल सुरु हुनुभन्दा अघिको यो प्रेमिल सम्वादले नै पुष्टि गरेको छ ।
समग्रमा गजल ‘फकायौ’ प्रेमको जित को गजल हो । प्रेमीले जति–जति फकायो उनी त्यतित्यति खुसी, समृद्ध र पूर्ण बन्दै गएकी अनुभूति गजलले दिएको छ ।
गजल ‘फकायौ’ को भिडियो हेर्नुहोस् !