
चितवन : आर.एम.एग्रोटेक प्रा.लि.ले नेपालमा पहिलोपटक लायोफिलाइजेसन प्रविधिमा आधारित अत्याधुनिक भ्याकुम फ्रिज ड्रायर सार्वजनिक रूपमा प्रदर्शन गरेको छ। भारतको प्रतिष्ठित कम्पनी आइस मेक रेफ्रिजरेसन लिमिटेड अन्तर्गतको ड्राइमेक ब्रान्डद्वारा विकसित उक्त प्रविधि चितवनको भरतपुरस्थित चितवन एक्स्पो सेन्टरमा सञ्चालन भइरहेको आठौँ नेपाल एग्रोटेक अन्तर्राष्ट्रिय प्रदर्शनीमा प्रस्तुत गरिएको हो।
माघ २ देखि ४ गतेसम्म सञ्चालन भइरहेको यो प्रदर्शनी नेपालकै सबैभन्दा ठूलो कृषि, यान्त्रिकीकरण तथा प्रविधि प्रदर्शनीका रूपमा चिनिन्छ। प्रदर्शनीमा एक सयभन्दा बढी स्टलमार्फत स्वदेशी तथा अन्तर्राष्ट्रिय कम्पनीहरूले कृषि उपकरण, डेरी मेसिनरी, पशुपक्षीपालन, खाद्य प्रशोधन तथा अत्याधुनिक कृषि प्रविधिहरू प्रदर्शन गरिरहेका छन्।
प्रदर्शनीका मुख्य आकर्षणमध्ये एकका रूपमा रहेको भ्याकुम फ्रिज ड्रायर प्रविधिले कम तापक्रम र भ्याकुमको प्रयोगमार्फत कृषि तथा खाद्य सामग्री सुकाउने कार्य गर्छ। यस प्रविधिबाट उत्पादनको पोषण तत्व, स्वाद, बनावट र गुणस्तर लामो समयसम्म जस्ताको तस्तै सुरक्षित राख्न सकिने बताइएको छ। फलफूल, तरकारी, दुग्धजन्य पदार्थ, मासु तथा जडीबुटी प्रशोधनमा यसको प्रयोग अत्यन्त प्रभावकारी मानिन्छ।
सन् १९९३ मा स्थापना भएको आइस मेक रेफ्रिजरेसन लिमिटेडले तीन दशकभन्दा बढी समयदेखि कोल्ड चेन तथा शीतलन समाधान क्षेत्रमा अन्तर्राष्ट्रिय पहिचान बनाउँदै आएको छ। नेपालका लागि यसको अधिकृत वितरक आर।एम। एग्रोटेक प्रा।लि।ले प्रदर्शनीमा भ्याकुम फ्रिज ड्रायरसहित कोल्ड स्टोरेज, चिलर, फ्रीजर र आइस प्लान्टलगायत सम्पूर्ण कोल्ड चेन प्रणालीहरू प्रदर्शन गरिरहेको छ।
यस अवसरमा आर।एम। एग्रोटेक प्रा।लिका प्रबन्ध निर्देशक प्रकाश मेहताले नेपालमा कृषि उत्पादनको ठूलो हिस्सा भण्डारण तथा प्रशोधन सुविधाको अभावमा नष्ट हुँदै आएको उल्लेख गर्नुभयो। उहाँका अनुसार भ्याकुम फ्रिज ड्रायरजस्ता ऊर्जा–कुशल, दीगो र आधुनिक प्रविधिले किसान तथा कृषि उद्यमीहरूलाई ठूलो राहत दिन सक्छ।
“यस्ता प्रविधिले कृषि उत्पादनको मूल्य अभिवृद्धि मात्र होइन, निर्यातको सम्भावना समेत विस्तार गर्ने आधार तयार गर्छ,” उनले भने।
प्रदर्शनी अवधिभर आइस मेक तथा ड्राइमेकका अत्याधुनिक प्रविधिहरू आगन्तुकहरूले प्रत्यक्ष अवलोकन गर्न, प्राविधिक जानकारी लिन र समाधानबारे परामर्श गर्न सक्ने व्यवस्था गरिएको आयोजकले जनाएको छ।