एनएसटी चुनावमा नयाँ सत्ता शैली: भण्डारी समूहले एजेन्डा मिडियामार्फत परीक्षण

काठमाडौं:  ड्यालस–फोर्ट वर्थ क्षेत्रका पत्रकारहरूसँग नेपाली समाज टेक्सास (NST) का अध्यक्ष पदका उम्मेदवार जनक भण्डारी नेतृत्वको समूहले चुनावी एजेन्डा र भावी योजनाबारे खुला अन्तरक्रिया सम्पन्न गरेको छ। सोमबार हल्टम सिटीस्थित इन्डियन किचेनमा आयोजित कार्यक्रममा भण्डारी प्यानलले आफ्नो प्रतिवद्धता प्रस्तुत गर्दै सञ्चारकर्मीहरूबाट सुझाव संकलन गरेको हो।

कार्यक्रममा अध्यक्षका उम्मेदवार जनक भण्डारीले आफू निर्वाचित भएमा NST को गरिमा, पारदर्शिता र प्रभावकारितालाई नयाँ उचाइमा पुर्‍याउने दृढता व्यक्त गरे। उनले NST ले विगतमा एनसीएससी, हिमालयन हेल्थ क्लिनिक, नेपाली चेम्बर अफ कमर्सजस्ता संस्थाहरू जन्माएको उल्लेख गर्दै आफ्नो टिमले मन्दिर निर्माणमा जनसहभागिता विस्तार, ज्येष्ठ नागरिक यातायात सेवा, विद्यार्थी सहायताको सुदृढीकरण, तथा अमेरिकी सरकारी निकायसँग सक्रिय समन्वयलाई मुख्य एजेन्डा बनाएको बताए।

mostbet

वरिष्ठ उपाध्यक्षका उम्मेदवार डा. चण्डी भण्डारीले “समाजले दिएको एजेन्डा नै हाम्रो एजेन्डा” भन्दै आफ्नो टिम समाजका आवश्यकता अनुसार काम गर्न तयार रहेको बताए।

महासचिव पदका उम्मेदवार रामकृष्ण यादवले आफू प्रचारभन्दा काममा विश्वास गर्ने व्यक्ति भएको उल्लेख गर्दै “निर्वाचित भएमा हरेक निर्णय प्रेस विज्ञप्तिमार्फत पारदर्शी रूपमा प्रकाशित गरिनेछ” भने। उनले समाजसेवा विकेन्द्रीकरणका लागि टोल–फ्री नम्बरको व्यवस्था गर्ने योजना पनि सुनाए।

उपाध्यक्षकी उम्मेदवार गुञ्जन भण्डारीले विद्यार्थी, महिला र समुदायका प्रत्यक्ष समस्यामा केन्द्रित भएर काम गर्ने बताइन्।

अन्तरक्रियामा पत्रकारहरूले बढ्दो आत्महत्याका घटनाबाट लिएर गुटबन्दी, मिडिया–NST समन्वय र क्रिकेट स्टेडियम विवादसम्मका विषयमा ठोस सुझाव राखे।

कार्यक्रमको समापन गर्दै डा. चण्डी भण्डारीले भने
“जीवन सिद्धान्तका लागि होइन, सिद्धान्त जीवनका लागि हो। समाजले एजेन्डा दिन्छ, हामी कार्यान्वयन गर्ने पात्र हौं—टिम जनक केवल सेवाका लागि आएको टिम हो।”

कार्यक्रमको सहजिकरण पूर्व महासचिव सन्देश उप्रेतीले गरेका थिए।