चुनाव लड्न दलले २१ दिनभित्र प्रमाणपत्र लिइसक्नुपर्ने

काठमाडौं : आगामी फागुन २१ हुने निर्वाचनमा भाग लिन चाहने राजनीतिक दलहरूले अबको २१ दिनभित्र दल दर्ताको प्रमाणपत्र लिनुपर्ने निर्वाचन आयोगले जनाएको छ। आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार, कात्तिक ३० गतेभन्दा ढिलो प्रमाणपत्र लिन खोज्दा समस्या हुन सक्छ।

निर्वाचन आयोगमा हालसम्म नयाँ दल दर्ताका १६ आवेदन आएका छन्। जेनजी आन्दोलनअघि नौ दलको र आन्दोलनपछि सात दलको निवेदन परेको छ। दर्ता भएका दलको संख्या १२४ रहेको छ। केही दल फुटेर नयाँ दल दर्ता भएका छन्।

आयोगले दलको विधान स्पष्ट हुनुपर्ने, सदस्य संख्या पर्याप्त हुनुपर्ने र चुनाव चिन्ह अनुमोदन गर्नुपर्ने लगायतका प्रक्रिया पूरा गर्न निर्देशन दिएको छ। उदाहरणका लागि, राष्ट्रिय जेनजी पार्टी नेपालले ‘क्रस खुकुरी’ चिन्ह प्रस्ताव गरेको थियो भने आयोगले चिन्ह फेर्न भनेको छ।

निर्वाचन कार्यतालिका अनुसार, दल दर्ता प्रमाणपत्र कात्तिक ३० गतेभित्र लिनुपर्नेछ। मंसिर १ देखि १० गतेसम्म निर्वाचन प्रयोजनका लागि दल दर्ता प्रक्रिया सञ्चालन हुनेछ। निर्वाचन प्रचारप्रसार फागुन ३ देखि १८ गतेसम्म हुनेछ र फागुन २१ गते मतदान हुने तालिका तय गरिएको छ।