
टोकियो : जापानमा पहिलो पटक महिला प्रधानमन्त्री चयनका लागि संसदमा आज ऐतिहासिक मतदान हुँदैछ । स्थानीय समयअनुसार दिउँसो १:३० बजे सुरु हुने मतदानमा देशको पहिलो महिला प्रधानमन्त्री चयन हुने अपेक्षा गरिएको छ ।
सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) की सानाए ताकाइची प्रधानमन्त्री बन्ने प्रमुख दावेदारका रूपमा अगाडि छिन् । एलडीपी र जापान इनोभेसन पार्टी (जेआपी)बीच रातारात भएको सहमतिपछि ताकाइचीले प्रधानमन्त्रीको कार्यालयका लागि आवश्यक बहुमत नजिक पुर्याएकी छन् ।
४६५ सिटको तल्लो सदनमा बहुमतका लागि २३३ मत आवश्यक पर्छ भने २४८ सिटको माथिल्लो सदनमा १२४ मत चाहिन्छ । ताकाइची अहिले बहुमतभन्दा दुई मतले मात्र पछाडि छिन् । यदि उनले पहिलो चरणमै बहुमत हासिल गरिन् भने उनी जापानकी पहिलो महिला प्रधानमन्त्रीका रूपमा निर्वाचित हुनेछिन् ।
संसदले नयाँ प्रधानमन्त्री चयन गरेपछि नयाँ सरकारले मन्त्रिपरिषद् घोषणा गर्ने र त्यसपछि शाही दरबारमा प्रमाणीकरण समारोह हुने कार्यक्रम तय गरिएको छ । नयाँ प्रधानमन्त्रीको पहिलो पत्रकार सम्मेलन आज राति हुने अपेक्षा गरिएको छ ।
सन् १९६१ मा नारा प्रिफेक्चरमा जन्मेकी ताकाइची एक समय हेभी मेटल ड्रमर थिइन् । पछि राजनीति प्रवेश गरेकी उनी एलडीपीकी मुखर र रूढिवादी नेत्रीका रूपमा चिनिन्छिन् । उनले सन् १९९६ मा पहिलो पटक सांसदको रूपमा जीत हासिल गरेकी थिइन् र अहिले सम्म १० पटक सांसद निर्वाचित भइसकेकी छन् ।
आजको मतदानमा ताकाइची प्रधानमन्त्रीका रूपमा अनुमोदित हुने व्यापक अपेक्षा गरिएको छ, जसले जापानी राजनीतिक इतिहासमा नयाँ युगको सुरुवात गर्नेछ ।