

काठमाडौं : दशैंपछि निरन्तर बढिरहेको सुनको भाउ बुधबार थप २ हजार ६ सय रुपैयाँले बढ्दै प्रतितोला २ लाख ३८ हजार रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि सो मूल्य निर्धारण गरेको हो । अघिल्लो दिन प्रतितोला २ लाख ३५ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
दशैंअघि असोज १२ गते सुनको मूल्य प्रतितोला २ लाख २३ हजार २ सय रुपैयाँमा थियो । त्यसयता तोलामा करिब १५ हजार रुपैयाँले मूल्य वृद्धि भइसकेको छ ।
अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य नयाँ उच्चतम विन्दुमा पुगेको छ । बुधबार सुनको मूल्य प्रतिऔंस ४ हजार २५ अमेरिकी डलर पुगेको छ, जुन हालसम्मकै उच्च मूल्य हो ।
त्यसैगरी चाँदीको मूल्य भने घटेको छ । अघिल्लो दिन प्रतितोला २९६० रुपैयाँ रहेको चाँदी आज ५ रुपैयाँ घटेर २९५५ रुपैयाँमा कायम भएको छ ।

