
काठमाडौं : जेन जी आन्दोलनका क्रममा विभिन्न नेताका घरसहितका स्थानमा भेटिएको वा जलेको भनिएको नगदमाथि अनुसन्धान तीव्र पारिएको अर्थ मन्त्रालयले जनाएको छ । २३ र २४ भदौमा भएको आन्दोलनपछि सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत सार्वजनिक सूचनाप्रति मन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
मन्त्रालयका अनुसार कानुनबमोजिम आय आर्जन भएको र स्रोत खुलेको रकम जतिसुकै परिमाण आफूसँग राख्न पाइन्छ । तर, सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ अनुसार एकपटकमा १० लाख रुपैयाँभन्दा बढी कारोबार गर्दा अनिवार्य रूपमा बैंकिङ उपकरण प्रयोग गर्नुपर्ने व्यवस्था छ ।
यस्तै, नेपाल आउने नेपाली वा विदेशी नागरिकले अमेरिकी डलर ५,००० सम्म (वा सो बराबर) नगद भन्सार घोषणा विना ल्याउन सक्ने र सो भन्दा बढी भएमा घोषणा अनिवार्य हुने प्रावधान रहेको मन्त्रालयले स्मरण गराएको छ ।
विदेशमा काम वा व्यवसाय गरेर आर्जन गरेको वैध रकममध्ये नेपाली नागरिकले अधिकतम डलर १,५०० वा सो बराबरको नगद राख्न सक्ने व्यवस्था पनि स्पष्ट गरिएको छ ।
मन्त्रालयले स्रोत नखुलेको नगद भेटिएका वा शंकास्पद देखिएका स्थानमा प्रचलित कानुनअनुसार अनुसन्धान गर्न सम्बन्धित निकाय सक्रिय भएको जनाएको छ ।