खाद्य सुरक्षामा संकट देखिँदै, कृषि विभागले सहज ढुवानीको सुनिश्चितता गर्न आग्रह

काठमाडौं : मुलुकमा विद्यमान असहज परिस्थितिबीच तरकारी, फलफूल, बीउबेर्ना लगायतका कृषिजन्य उत्पादन ढुवानीमा समस्या देखिएपछि कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको कृषि विभागले सहज ढुवानीका लागि सार्वजनिक अपील गरेको छ।

कृषि विभागका महानिर्देशक प्रकाशकुमार सन्जेलले शुक्रबार सूचना जारी गर्दै देशभर उत्पादन भएका नाशवान कृषि वस्तु समयमै गन्तव्य नपुग्दा मुलुकको खाद्य सुरक्षामै प्रतिकूल असर पर्न सक्ने चेतावनी दिएका छन्।

mostbet

उनले किसान, कृषि उद्यमी र व्यवसायीका तर्फबाट प्राप्त अनुरोधका आधारमा यो अपील गरिएको उल्लेख गर्दै, राजमार्गमा सिर्जित समस्या समाधान गरी कृषि उत्पादन निर्वाध ओसारपसार गर्न सरोकारवालामा आग्रह गरेका छन्।

“अति संवेदनशील र नाशवान कृषि उत्पादन निर्धारित समयमा गन्तव्यसम्म नपुगे मुलुकको समग्र खाद्य सुरक्षामा असर पर्छ,” सूचनामा भनिएको छ।

कृषि विभागले आमकिसानको हितलाई प्राथमिकतामा राख्दै कृषि वस्तुको निर्वाध ढुवानीका लागि सबै निकायसँग आवश्यक सहयोग र सहजीकरण गर्न अनुरोध गरेको छ।

यस अपीलको बोधार्थ कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई समेत जानकारी दिइएको छ।