जेनजी आन्दोलनमा पार्टीको छायाँ? अन्तरिम सरकारका नाममा युवा भिडन्त

काठमाडौं : काठमाडौंको सुन्धारा क्षेत्रमा बिहीबार जेनजी आन्दोलनमा संलग्न युवाहरूबीच तीव्र झडप भएको छ । नयाँ अन्तरिम सरकार गठनको नाममा विभिन्न समूह छुट्टाछुट्टै सिफारिस बोकेर आएका युवाहरूबीच मतैक्य नहुँदा टकरावसम्मको स्थिति देखिएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएसँगै मुलुक सरकारविहीन अवस्थामा पुगेको छ । यस्तो संवेदनशील घडीमा नेपाली सेनाले अस्थायी नेतृत्वका लागि समूहगत रुपमा ‘लिडर’ को नाम र सम्पर्क विवरण माग गरेपछि युवाहरू विभिन्न गुट बनाएर उपस्थित भएका थिए । तर, कसलाई अन्तरिम सरकारको प्रमुख बनाउने भन्ने विषयमा एकअर्काका नाम अस्वीकार गर्दै विवाद चर्किएको हो ।

शुशीला कार्की, बालेन शाह, कुलमान घिसिङ र हर्क साम्पाङलाई प्रधानमन्त्रीका रूपमा अघि सारेका विभिन्न समूहबीच जंगीअड्डा अगाडि र सुन्धारा क्षेत्रमा पटक–पटक विवाद चर्किएको छ ।

विश्लेषकहरू भन्छन्— “युवाहरूको आन्दोलनको वास्तविक स्वरुप एक ठाउँमा केन्द्रित हुनुपर्ने बेलामा यसरी छुटाछुट्टै गुट बनाएर भिड्नु राजनीतिक दलहरूको अदृश्य हस्तक्षेपको परिणाम हो ।”

नेपाली सेनाले जंगीअड्डा अगाडि भिड हुन नदिएपछि युवाहरू सुन्धारा क्षेत्रमा भेला हुन थालेका छन् । तर नेतृत्वको एकता नभएकाले आन्दोलन अझै निष्कर्षमा पुग्न सकेको छैन ।