
काठमाडौं : आज भदौ २२ गते, भाद्र शुक्ल पूर्णिमाको दिन खग्रास चन्द्रग्रहण लाग्दैछ। यो २०८२ सालको पहिलो चन्द्रग्रहण हो।
खग्रास चन्द्रग्रहणका बेला चन्द्रमा रातो रङ्गको देखिन्छ, जसलाई सामान्य भाषामा ‘ब्लड मुन’ भनिन्छ। वैज्ञानिक व्याख्या अनुसार पृथ्वीको वायुमण्डलले नीलो प्रकाशलाई तितरबितर पारिदिँदा रातो प्रकाश मात्र चन्द्रमामा पुग्ने भएकाले चन्द्रमा रातो देखिन्छ।
नेपालबाट अवलोकन
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार ग्रहण राति १० बजेर ११ मिनेटमा सुरु भई राति १ बजेर ४१ मिनेटमा अन्त्य हुनेछ। मौसम सफा भएमा काठमाडौंसहित सम्पूर्ण नेपालबाट करिब साढे तीन घण्टा सम्म चन्द्रग्रहण अवलोकन गर्न सकिनेछ।
यो दृश्य नेपाल, भारत, एशियाका अधिकांश भाग, पश्चिम अष्ट्रेलिया र युरोपमा रहेका करिब ८५ प्रतिशत जनसंख्याले देख्न सक्नेछन्। समितिका अनुसार यसै वर्ष फागुन शुक्ल पूर्णिमामा अर्को खण्डग्रास चन्द्रग्रहण पनि लाग्नेछ।
ग्रहण किन लाग्छ ?
खगोल विज्ञानका अनुसार सूर्य, पृथ्वी र चन्द्रमा एउटै सीधामा आउँदा ग्रहण लाग्छ। सामान्यतया सूर्यको प्रकाश परेपछि हामीले चन्द्रमालाई देख्छौं। तर पृथ्वी बीचमा पर्दा त्यसको छायाँ चन्द्रमामा पर्छ र चन्द्रग्रहण लाग्छ।
पूर्णरूपमा ढाकिँदा खग्रास चन्द्रग्रहण हुन्छ।
आंशिक रूपमा ढाकिँदा खण्डग्रास चन्द्रग्रहण हुन्छ।
यसरी नै सूर्य, पृथ्वी र चन्द्रमाको परिक्रमा क्रममा जब चन्द्रमा सूर्य र पृथ्वीबीच पर्छ, सूर्यको प्रकाश छेकिँदा पृथ्वीमा अँध्यारो हुन्छ, जसलाई सूर्यग्रहण भनिन्छ।
धार्मिक विश्वास र वैज्ञानिक दृष्टिकोण
धार्मिक मान्यताअनुसार ग्रहणको समयमा पूजापाठ नगर्ने, खाना नखाने, हाँस्यव्यंग्य वा सहबास नगर्ने विश्वास रहिआएको छ। तर वैज्ञानिकहरूले यसलाई अन्धविश्वास मान्दै खगोलीय घटनालाई अध्ययन र अनुसन्धानको दृष्टिले हेर्नुपर्ने सुझाव दिएका छन्।
विशेषज्ञहरूले ग्रहणलाई नाङ्गो आँखाले नहेरी दूरबिन वा सुरक्षित फिल्टर प्रयोग गरेर हेर्न सिफारिस गरेका छन्।