किसान महासंघको महाधिवेशन मतदानमै बिथोलियो

काठमाडौं : सत्तारूढ दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल किसान महासंघको चौथो महाधिवेशन नेतृत्व चयन प्रक्रियामै विवाद भएपछि बिथोलिएको छ।

महाधिवेशन गत बिहीबार त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरमा कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका थिए। तीन दिनसम्म चल्ने भनिएको महाधिवेशनमा नयाँ नेतृत्व चयन प्रक्रिया भने शनिबार विवादसँगै अवरुद्ध भएको हो।

mostbet

सहमति असफल भएपछि मतदान

प्रारम्भिक चरणमा पदाधिकारी चयनका लागि सहमति खोजिएको थियो। तर सहमति नजुटेपछि शुक्रबारदेखि नै पार्टी केन्द्रीय कार्यालय, सानेपामा मतदान प्रक्रिया सुरु गरिएको थियो। शनिबार साँझ मतदान सकिनै लाग्दा मतगणनाको विषयमा मतभेद उत्पन्न भएपछि तीव्र वादविवाद बढ्दै गएको र अन्ततः मतदान प्रक्रिया नै बिथोलिएको निर्वाचन समितिले जनाएको छ।

आन्तरिक विवाद झल्कियो

महाधिवेशनमार्फत किसान महासंघको नयाँ नेतृत्व चयन हुने अपेक्षा गरिएको थियो। तर महाधिवेशनमा कांग्रेसभित्रका फरक–फरक समूहबीच प्रतिस्पर्धा र आरोप–प्रत्यारोपले महाधिवेशन तनावग्रस्त बनेको हो। केही प्रतिनिधिहरूले निर्वाचन प्रकृयामा धाँधली भएको आरोप लगाए भने अर्को पक्षले नियमअनुसार प्रक्रिया अघि बढाइरहेको दाबी गरेको थियो।

किसानका मुद्दा ओझेलमा

महाधिवेशन किसान महासंघले किसानका माग र समस्यालाई मुखर बनाउनुपर्ने थलो हो भन्ने अपेक्षा थियो। तर विवादका कारण किसानका वास्तविक मुद्दा ओझेलमा परेको भन्दै सहभागीहरूले असन्तुष्टि व्यक्त गरेका छन्। उनीहरूको भनाइमा, “महासंघको उद्देश्य किसानको अधिकार र हितका लागि आवाज उठाउनु हो तर आन्तरिक शक्ति संघर्षकै कारण किसानका एजेन्डा छायामा पर्नु दुर्भाग्यपूर्ण छ।”

अर्को बैठकबाट समाधान खोजिने

मतदान प्रक्रियामा उत्पन्न विवाद मिलाउन कांग्रेस नेतृत्व र निर्वाचन समितिबीच छलफल जारी छ। पार्टी निकट स्रोतका अनुसार, विवाद समाधान गर्न विशेष बैठक बोलाउने तयारी भइरहेको छ। नयाँ नेतृत्व चयनका लागि अब पुनः तिथि निर्धारण गर्ने वा निर्वाचन प्रक्रिया दोहोर्याउनेबारेमा अन्तिम निर्णय कांग्रेस शीर्ष नेतृत्वले गर्नेछ।