
काठमाडौं : सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णयविरुद्ध सडकमा उत्रिएका पाँच जना युवालाई प्रहरीले पक्राउ गरेको छ।
शनिबार काठमाडौंको नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र अगाडि आयोजित विरोध प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच केही समय धक्का–मुक्कीसमेत भएको थियो। अन्ततः प्रहरीको टोलीले प्रदर्शनमा सहभागी पाँच जनालाई नियन्त्रणमा लिएको हो।
मुखमा टेप लगाएर सांकेतिक प्रदर्शन
‘युथ कांग्रेस नेपाल’द्वारा आयोजित विरोधमा सहभागी युवाहरूले मुखमा मास्क लगाएर, त्यसको माथि कालो टेप टाँसेर अभिव्यक्ति स्वतन्त्रतामाथि भएको प्रहारको विरोध गरेका थिए। उनीहरूले सामाजिक सञ्जाल बन्द गर्नु लोकतन्त्रको मूल्य–मान्यतामाथिको आक्रमण भएको भन्दै सांकेतिक प्रदर्शन गरेका थिए।
पक्राउ परेका व्यक्तिहरूमा संस्थाका महामन्त्री प्रभात कुमार ठाकुर, कोषाध्यक्ष विराज अर्याल, केन्द्रीय समिति सदस्यहरू सुजन राज गिरी र धिरज सञ्जेल, तथा सदस्य आशिष शर्मा रहेका छन्।
अभिव्यक्ति स्वतन्त्रताको पक्षमा उठेको आवाज
संस्थाका सदस्यहरूले सामाजिक सञ्जालमाथि गरिएको प्रतिबन्धले नागरिकको स्वतन्त्र अभिव्यक्ति अधिकार खोस्ने प्रयास भएको दाबी गरेका छन्। उनीहरूले भने, “लोकतन्त्रमा नागरिकको आवाज रोक्ने कुनै पनि प्रयास सह्य हुँदैन। हाम्रो आन्दोलन अभिव्यक्ति स्वतन्त्रता र लोकतन्त्रको रक्षा गर्ने उद्देश्यले गरिएको हो।”
तत्काल रिहाइको माग
‘युथ कांग्रेस नेपाल’ले विज्ञप्ति जारी गर्दै पक्राउ परेकाहरुलाई बिना शर्त तत्काल रिहाइ गर्न माग गरेको छ। विज्ञप्तिमा भनिएको छ, “भविष्यमा यस प्रकारका शान्तिपूर्ण आन्दोलनलाई गैर–लोकतान्त्रिक शैलीमा रोक्ने प्रयास नगर्न सम्बद्ध सबै पक्षलाई सचेत गराउन चाहन्छौं।”
संस्थाले शान्तिपूर्ण प्रदर्शनलाई बल प्रयोग गरेर रोक्नु लोकतान्त्रिक मूल्य र संविधानको मर्म विपरीत भएको टिप्पणी गर्दै नागरिक अधिकारको रक्षा गर्न राज्यलाई सचेत गराएको छ।
सामाजिक सञ्जाल प्रतिबन्धप्रति असन्तुष्टि बढ्दै
हालै सरकारद्वारा गरिएको सामाजिक सञ्जाल बन्दको निर्णयलाई लिएर विभिन्न क्षेत्रबाट आलोचना भइरहेको छ। राजनीतिक दल, नागरिक समाजका प्रतिनिधि तथा स्वतन्त्र अभियन्ताहरूले समेत यो निर्णयलाई असंवैधानिक र गैर–लोकतान्त्रिक भनेका छन्।
यसै क्रममा ‘युथ कांग्रेस नेपाल’ले देशभरका युवालाई सचेत रहन आह्वान गर्दै शान्तिपूर्ण तर शक्तिशाली आन्दोलन निरन्तर गरिने चेतावनी दिएको छ।