
काठमाडौं : फेसबुक सञ्चालक संस्था मेटाले नेपालमा कम्पनी दर्ता प्रक्रियालाई अघि बढाउन औपचारिक पहल थालेको छ। यसै क्रममा मेटाले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग दर्ताका लागि आवश्यक कागजातको विवरण माग गरेको छ।
मन्त्रालयका सहसचिव एवं प्रवक्ता गजेन्द्रकुमार ठाकुरका अनुसार मेटाका प्रतिनिधिले मन्त्रालयका मन्त्रीका विज्ञ सल्लाहकार शालिकराम पराजुलीलाई इमेलमार्फत दर्ता प्रक्रिया अघि बढाउनुपर्ने कागजातबारे जानकारी मागेका थिए।
‘पौने ५ बजे मेटाका प्रतिनिधिले मन्त्रीज्यूका विज्ञ सल्लाहकारलाई इमेल गरेर आवश्यक कागजातबारे सोध्नुभएको रहेछ,’ ठाकुरले भने, ‘हामीले ५ मिनेटभित्रै नेपालमा सामाजिक सञ्जाल दर्ता गर्नुपर्ने प्रक्रिया र कागजातबारे जानकारी पठाइसकेका छौं।’
नेपाल सरकारले सामाजिक सञ्जालको नियमनलाई कडाइ गर्ने निर्णय गरिसकेको छ। सरकारले क्रमशः सूचीकृत नभएका सामाजिक सञ्जाल सञ्चालनमा रोक लगाउने निर्णय गरिसकेको हो।
यही सन्दर्भमा नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायक कम्पनीहरूलाई २६ वटा सूचीकृत नभएका सामाजिक सञ्जाल बन्द गर्न निर्देशनसहित पत्राचार गरिसकेको छ।
सामाजिक सञ्जालको दर्ता, कर तिर्ने प्रक्रिया र नियमनबारे लामो समयदेखि बहस हुँदै आएको थियो। सरकारको निर्णयपछि सामाजिक सञ्जाल प्रयोगकर्ता, विज्ञ र सरोकारवाला निकायबीच यसले ल्याउने प्रभावबारे विभिन्न मत–विमत देखिएका छन्।
विशेषगरी, नेपालमा प्रयोग भइरहेका ठूला सामाजिक सञ्जालहरू (फेसबुक, टिकटक, युट्युब, इन्स्टाग्राम) को औपचारिक दर्ता प्रक्रिया अघि बढ्ने हो भने यसले राजस्व संकलन, कानुनी उत्तरदायित्व र उपभोक्ता सुरक्षामा टेवा पुग्ने सरकारको दाबी छ। तर, यसबारे कार्यान्वयन कति प्रभावकारी हुन्छ भन्नेबारे अझै प्रश्नहरू बाँकी रहेको सरोकारवालाहरू बताउँछन्।