साफ यू–१७ महिला च्याम्पियनसिपको पहिलो खेलमा नेपाल भारतसँग ७–० ले पराजित

काठमाडौं : भुटानमा आजदेखि सुरु भएको साफ यू–१७ महिला च्याम्पियनसिपमा नेपालले सुरुवाती खेलमै भारतसँग ठूलो अन्तरको हार बेहोरेको छ।

भुटानको चाङ्लिमिथाङ रंगशालामा भएको खेलमा भारतले नेपाललाई ७–० गोल अन्तरले पराजित गर्‍यो। पहिलो हाफमै ५ गोल गरेको भारतले दोस्रो हाफमा थप २ गोल गर्दै सहज जित दर्ता गर्‍यो।

mostbet

खेलअघि मंगलबार आयोजित प्रि–म्याच कन्फरेन्समा नेपाली टोलीका मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठले उपाधि जित्ने लक्ष्य रहेको बताएका थिए। तर पहिलो खेलमै नेपालको चुनौती कमजोर बनेको छ।

साफ यू–१७ महिला च्याम्पियनसिपमा नेपाल, भारत, बंगलादेश र आयोजक भुटान गरी चार टोली सहभागी छन्। प्रतियोगिता डबल राउण्ड रोबिन लिग प्रणालीमा खेलिनेछ र सबैभन्दा बढी अंक हासिल गर्ने टोलीले उपाधि जित्नेछ।

आजै हुने अर्को खेलमा आयोजक भुटानले बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ। नेपालले अब दोस्रो खेल शुक्रबार भुटानसँग खेल्नेछ।