
काठमाडौं : अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी–२० सिरिजमा नेपालले लगातार दोस्रो जित हात पारेको छ। बुधबार भएको पाँचौँ खेलमा नेपालले मेलबर्न रेनेगेड्स एकेडेमीलाई ३३ रनले पराजित गर्यो।
पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाएर १३९ रन बनाएको थियो। कुशल मल्लले २२ बलमा १ चौका र १ छक्कासहित सर्वाधिक २९ रन बनाए भने कप्तान दिपेन्द्रसिंह ऐरीले २८ बलमा २७ रन जोडे। लोकेश बमले १६ बलमा २४ रन, भीम सार्कीले १७ रन, आरिफ शेख र रुपेश सिंहले समान १२–१२ रन बनाए।
लक्ष्य पछ्याएको रेनेगेड्स २० ओभरमा १०६ रनमै समेटियो। विपक्षीका लागि अर्जुन नायरले २६ रन, जे लेमिरले १८ रन र ह्यारी डिक्सनले १६ रन बनाए।
नेपालका लागि बलिङमा सोमपाल कामी चम्किए। उनले ४ ओभरमा १७ रन खर्चेर ५ विकेट हात पारे। कुशल भुर्तेलले २ विकेट लिँदा रुपेश सिंह, दिपेन्द्रसिंह ऐरी र शाहब आलमले १–१ विकेट लिए।
यसअघि नेपालले पहिलो तीन खेलमा लगातार हार व्यहोरेको थियो। तर चौथो खेलमा होबार्टलाई ६६ रनले हराएपछि मंगलबार जितको स्वाद चाखेको नेपालले बुधबार पनि विजय दोहोर्याएको हो।
५ खेल सक्दा ४ अंकसहित नेपाल तालिकाको सातौं स्थानमा पुगेको छ। प्रतियोगिताको सेमिफाइनलमा शीर्ष ४ टोली प्रवेश गर्ने प्रावधान छ। अब नेपालले शुक्रबार पाकिस्तान शाहीन्ससँग प्रतिस्पर्धा गर्नेछ।