
धादिङ : नीलकण्ठ नगरपालिका–१०, ढोडेनी ज्यामरुङका दलित समुदायका २६ वर्षीय रामबहादुर विसुन्के माथि सोही वडाका वडा सदस्य हिमप्रसाद पाठकले जातीय विभेद गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ।
पीडित विसुन्केले जिल्ला प्रहरी कार्यालय धादिङमा दिएको जाहेरीअनुसार २०८२ साउन १९ गते दिउँसो खेतमा रोपाइँ गर्ने क्रममा पानी प्रयोगको विषयमा विवाद हुँदा पाठकले ‘ओइ सार्की, चमारे, सिनो खाने जात’ जस्ता जातीय अपशब्द प्रयोग गर्दै कुटपिट मात्र नगरी प्राणघातक धम्की समेत दिएका थिए।
विवादपछि रिसले चुर भएका पाठक घरमा गएर धारिलो हतियार खुडा लिएर आएको र विसुन्केमाथि आक्रमण गर्ने प्रयत्न गर्दा उनकी पत्नीले रोक्ने क्रममा खुडा लुकाएको प्रमाणस्वरूप भिडियोसमेत पीडितले प्रहरीलाई बुझाएका छन्।
विसुन्केले जाहेरीमार्फत “जातीय भेदभाव तथा छुवाछुत (कसुर र सजाय) ऐन २०६८” विपरीत कार्य भएको भन्दै कानुनअनुसार कारबाही गर्न माग गरेका छन्। आरोपित पाठक करिब ४५–४६ वर्ष उमेरका, नीलकण्ठ–१० निवासी तथा निर्वाचित वडा सदस्य भएको जाहेरीमा उल्लेख छ।
प्रहरीले जाहेरी दर्ता गरी घटनाको अनुसन्धान थालिएको र दोषी देखिएमा पद वा पावर नहेरी कानुनबमोजिम कारबाही गर्ने प्रतिबद्धता जनाएको छ।
पिडित विसुन्केले आफूले भोट हालेर जिताएको जनप्रतिनिधिबाट नै जातीय विभेद र हिंसा भोग्नु परेको भन्दै पीडा व्यक्त गरेका छन्। उक्त घटना राष्ट्रिय दलित आयोगलाई समेत जानकारी गराइएको छ।
