सुर्खेतमा अटो दुर्घटना, शिशुसहित सात घाइते

सुर्खेत : सुर्खेतको चौकुने गाउँपालिकामा आइतबार बिहान अटो रिक्सा दुर्घटना हुँदा एकै परिवारका सदस्यसहित सात जना घाइते भएका छन्। घाइतेमध्ये पाँच महिने शिशुको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

प्रहरीका अनुसार, चौकुने–८ मा मदन भण्डारी राजमार्ग अन्तर्गत मायातालबाट गुटुतर्फ जाँदै गरेको से १ ह २७०० नम्बरको अटो सडकबाट करिब ४० मिटर तल खसेको थियो। बिहान करिब साढे ९ बजे भएको दुर्घटनामा अटो चालकसहित सवार सबै घाइते भएका छन्।

गम्भीर घाइते शिशु नविश विकलाई थप उपचारका लागि अन्यत्र पठाउने तयारी भइरहेको छ भने आमा मिना विकसहित अन्य पाँच जनाको अवस्था मध्यम छ। दुई जना सामान्य घाइते छन्।

प्रहरी नायव उपरीक्षक मोहनजंग बुढ्थापाका अनुसार, क्षमताभन्दा बढी यात्रु बोकेकाले अटो अनियन्त्रित भएको हुनसक्ने प्रारम्भिक आशंका छ। घटनाबारे थप अनुसन्धान जारी छ।