

काठमाडौः विचार र अवसरको संगममा जर्मनीका बिभिन्न पेशमा आवद्ध नेपालिहरुको सक्रिय सहभागिता म्युनिक, जर्मनी – जर्मनीभरिबाट आएका बिभिन्न पेशमा आवद्ध नेपालिहरुको वार्षिक भेला “नेपाली रूट्स सम्मेलन २०२५” अगस्ट ९, मा म्युनिकमा उत्साहपूर्वक सम्पन्न भयो। नेपाली रूट्स द्वारा आयोजित यस वर्षको सम्मेलनमा जर्मनीका विभिन्न शहरमा कार्यरत ७५ जना अनुसन्धानकर्ता, उद्यमी, इन्जिनियर, विद्यार्थी र नेपाली समुदायका अगुवाहरूको उल्लेखनीय सहभागिता रह्यो।
नेपाली रूट्स जर्मनीमा रहेका नेपाली पेशागत समुदायलाई ज्ञान, सीप र अवसरको साझा मञ्चमा जोड्ने संस्था हो। कार्यक्रमको अध्यक्ष्यता नेपाली रूट्सका अध्यक्ष डा.कृतन गौतमले गरेका थिए भने कार्यक्रमका मुख्य संयोजक सन्दीप बास्तोलाको नेतृत्वमा उद्घाटन सत्र सुरु भयो। नेपाली रूट्स का रबिन्द्र घिमिरे र सन्दीप बास्तोलाले स्वागत मन्तव्य राखे। त्यसपछि जर्मनीस्थित नेपालका राजदूत महामहिम डा. शैल रुपाखेतीले विशेष अभिवादन गर्दै जर्मनीमा रहेका नेपाली पेशागत समुदायको ज्ञान, सीप र सञ्जाललाई नेपाल र जर्मनीबीचको सहकार्यमा प्रयोग गर्न सकिने सम्भावनाबारे जोड दिनुभयो। जि.आई. जेड नेपालका सौरभ कोइरालाले पनि संस्थागत साझेदारी र दिगो विकासमा ज्ञान–विनिमयको भूमिकाबारे शुभकामना मन्तव्य दिए। मुख्य वक्ताका रूपमा वरिस्ठ जलवायु तथा वायुमण्डलीय वैज्ञानिक र जि.आई. जेड , जर्मनीका अनुसन्धान समूह प्रमुख डा. महेश्वर रुपाखेतीले नेपाल एक न्यून कार्बन उत्सर्जन गर्ने रास्ट्र भए पनि जलवायु परिवर्तनका गम्भीर प्रभावहरू भोगिरहेको उल्लेख गर्दै, जलवायु वित्त, संस्थागत सुदृढीकरण, प्राविधिक क्षमता विकास र प्रवासी समुदायको सक्रिय सहकार्यद्वारा नेपाललाई जलवायु सहनशील बनाउन आह्वान गरे। त्यसैगरि,रबिन्द्र घिमिरेको संयोजनमा, प्रकाश सुवेदी (वरिष्ठ प्रबन्धक, ) र दिनेश पौडेल (पीएचडी उम्मेदवार,) वक्ता रहेको प्यानल छलफलमा जलवायु परिवर्तनले अटोमोटिभ, नीतिगत र प्रविधि क्षेत्रमा पार्ने प्रभावबारे विविध दृष्टिकोण प्रस्तुत गर्दै, वक्ताहरूले नेपालमा विद्युतिय सवारी को तीव्र वृद्धि, नीतिगत स्थिरता, प्राविधिक क्षमता अभिवृद्धि, दिगोपनका लागि प्रविधि प्रयोग, र स्थानीय सरकारदेखि अन्तर्राष्ट्रिय सहकार्यसम्मको आवश्यकतामा जोड दिए।

पर्यावरण विशेषज्ञ तथा क्यानोपी वैज्ञानिक डा. यज्ञ अधिकारीले प्रवासी नेपालीहरूको सामूहिक शक्ति, विज्ञान र समुदायको सहकार्यद्वारा हिमाल र वन जोगाउने आवश्यकता औंल्याउँदै, वन पुनर्स्थापना, जलवायु स्मार्ट कृषि, नवीकरणीय ऊर्जा र अन्तर्राष्ट्रिय साझेदारीलाई जलवायु संकटको समाधानका मुख्य बाटोका रूपमा प्रस्तुत गरे । जि ए एन प्रविधिका प्रमुख र वैज्ञानिक अनुसन्धानकर्ता डा. इन्जि. सरद बहादुर थापाले सेमिकन्डक्टरलाई जलवायु सहनशीलताको मेरुदण्ड भन्दै, यसको उच्च ऊर्जा, पानी खपत र कार्बन फुटप्रिन्टका चुनौतीसँगै, स्मार्ट कृषि, नवीकरणीय ऊर्जा, विद्युत यातायात जस्ता क्षेत्रमा नेपालका सम्भावनालाई औल्याए । दिगोपन विज्ञ रञ्जना बुढाथोकीले जोखिम व्यवस्थापन र मूल्य सिर्जना दुवैका लागि महत्त्वपूर्ण उपकरणका रूपमा प्रस्तुत गर्दै, नेपालमा वित्तीय क्षेत्रमा मात्र सीमित ESG अभ्यासलाई सबै क्षेत्रमा विस्तार गर्न, पारदर्शिता र प्रवासी विशेषज्ञताको उपयोगद्वारा दिगो लगानी आकर्षित गर्नुपर्ने आवश्यकता दर्शाइन । पीएचडी अनुसन्धान्कर्ता समिप श्रेष्ठले, हिमाली क्षेत्रमा जोखिम पहिचान र प्रारम्भिक चेतावनीका लागि रिमोट सेन्सिङको अत्यावश्यकता बारे कुरा गरे । अर्को प्यानल सत्रमा, सुमन सिम्खडाको संयोजनमा नविन राज गैह्रे (मुख्य सञ्चालन अधिकृत, ) र समिप राउत (संस्थापक, लालीगुराँस ) ले विषयमा जर्मनीस्थित उद्यमी र व्यवसायिक नेटवर्कको योगदानबारे विचार प्रस्तुत गरे जसमा बिशेशत नेपाली डायस्पोराले नेपालमा ज्ञान र लगानी मार्फत अर्थतन्त्र र स्थानीय समुदायमा सकारात्मक प्रभाव पार्न सक्छ, उद्यमशीलता र नेटवर्किङलाई बलियो बनाउनु जरुरी रहेको बारेमा छलफल भयो । कार्यक्रमको अन्त्यतिर, सहभागीहरूलाई चार समूहमा विभाजन गरी समूहगत छलफल र समाधान निर्माण गतिविधि गरिएको थियो, जसमा वक्ताहरू समेत प्रत्यक्ष रूपमा संलग्न भए। समापन सत्रमा नेपाली रूट्सका अध्यक्ष डा. कृतन गौतम ले सबै वक्ता, सहभागी र साझेदार संस्थाप्रति आभार व्यक्त गर्दै सम्मेलनलाई “जर्मनीमा नेपाली पेशागत समुदायको साझा ज्ञान, सहकार्य र अवसर सृजनाको थलो” को रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे। उनले आगामी वर्ष पनि यस्तै सम्मेलन आयोजना गर्ने घोषणा गर्दै यस वर्षका अनुभव र सिफारिसलाई अझ प्रभावकारी रूपमा लागू गर्ने योजना साझा गरे ।