
कर्णाली प्रदेशमा अवस्थित दैलेख जिल्लाको महाबु गाउँपालिका भित्र पर्ने महाबु लेक वा महाबु धाम (पूर्वमा गाथ भनेर चिनिने) प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र सांस्कृतिक सम्पदाले भरिपूर्ण एक अद्वितीय स्थल हो। समुद्री सतहदेखि ४२०० मिटरको उचाइमा फैलिएको रमणीय पाटन क्षेत्र, अग्ला हरियालीले ढाकिएका लेकहरू, चरिरहेका भेंडाबाख्राको झुन्ड, र हिमाली कुहिरोसँग खेलिरहेको निलो आकाश—यिनैका बीच अवस्थित छ, महादेवको आशीर्वादले भरिएको महाबु धाम।
धार्मिक ऐतिहासिक पृष्ठभूमि
महाबु धामको धार्मिक महत्त्व शिवजीको प्राचीन आराधना स्थलसँग जोडिएको छ। परम्परागत कथनअनुसार, दैलेखका आचार्य कुलका एक लाटो गोठालाले आफैंलाई बोल्न असमर्थ ठान्दथे। उनले आफ्नो गाईले विशेष ढुङ्गामाथि दूध चढाइरहेको देखेपछि कौतुहलतावश हँसियाले कोट्याउँदा त्यहाँबाट शिवलिङ्ग प्रकट भएको थियो। त्यही रात गोठालाले सपनामा महादेवलाई देखे जसले उनलाई बोल्ने वरदान दिँदै नियमित दूध चढाउन भने। आज त्यो ठाउँ शिव उत्पत्तिको स्थलको रूपमा पूजनीय छ।
जनै पूर्णिमा र महाबु मेला
हरेक वर्ष साउनको जनै पूर्णिमामा यहाँ भव्य मेला लाग्छ। नेपालका विभिन्न जिल्लाबाट मात्र होइन, भारतदेखि समेत हजारौँको सङ्ख्यामा भक्तजनहरूको ताँती लाग्दछ। भक्तजनहरू त्रिशूल काँधमा बोकी, केहीले दाम्लो बाँधेर आफ्नो मनोकांक्षा पूर्ति होस् भन्ने आशासाथ पूजामा भाग लिन्छन्। धेरैजसो भक्तजनहरू १, ३ वा ७ पटकसम्म शिवलिङ्गको परिक्रमा गर्ने गर्दछन्।
विशेष पूजामा दैलेखको आचार्य कुल र कालिकोटको काफ्ले कुलका पुजारीहरू सँगै बसेर पूजा सम्पन्न गर्ने परम्परा छ। भक्तजनहरूले मुखमा बुकी र घाँटीमा घाँस च्यापेर पूजास्थलमा प्रवेश गर्नु अझै चलनमा छ। यो आस्था र परम्पराले भरिएको पूजापाठ न केवल धार्मिक हो, यसले संस्कार, संस्कृति र जनविश्वासको प्रतीक प्रस्तुत गर्दछ।

प्राकृतिक सौन्दर्य र पाटनको भव्यता
महाबु धाम पुग्ने बाटो रोमाञ्चक, साहसिक र अत्यन्त मनोरम छ। यात्रा मार्गमा पर्ने इँटाको उकालो, छान्ना, दशरथे, ओखरबाँस, भावसैनि, नाउली, उनिपाटा हुँदै लिस्नेको उकालो पार गरेपछि भक्तजनहरू महाबु पाटन पुग्दछन्। कतिपय स्थानमा ९० डिग्रीको झैं लाग्ने उकालो हुँदै हिँड्नुपर्ने भए पनि यात्रामा कसैलाई कुनै दुर्घटना नभएको विश्वासले शिवको संरक्षणलाई जनाउँछ।
त्यहाँबाट जुम्ला, कालिकोट, दैलेख, जाजरकोटका धेरै गाउँहरू देख्न सकिन्छ। असोज-कार्तिकको खुला मौसममा बर्दिया, टिकापुर, नेपालगञ्ज, सुर्खेतसम्मको दृश्यावलोकन गर्न सकिन्छ, जुन दृश्यले कसैलाई पनि मन्त्रमुग्ध बनाउँछ। 
महाबुमा महिला प्रवेश र सामाजिक रूपान्तरण
एक समय थियो, जब महिलालाई महाबु धाम जान मनाही गरिएको थियो। अनिष्ट हुन्छ भन्ने रूढीवादी मान्यताको समाप्तिसँगै अहिले महिलाहरू पनि श्रद्धापूर्वक महाबु पुग्ने र दर्शन गर्ने अवसर पाएका छन्। यो परम्परागत भेदभावको अन्त्यले समावेशी धार्मिक चेतनाको सुरुवात गरेको छ।
पर्यटकीय सम्भावना र चुनौती
महाबु धामको धार्मिक महत्त्व र प्राकृतिक सौन्दर्यलाई मध्यनजर गर्दै यसलाई धार्मिक पर्यटनस्थलको रूपमा विकास गर्ने अपार सम्भावना छ। तर, अहिलेसम्म राज्यस्तरबाट ठोस पहल नहुँदा धर्मशालाहरूको अभाव, सरसफाइको समस्या, आवासको असुविधा जस्ता चुनौती विद्यमान छन्। केही धर्मशाला त छन्—तर फोहोर, अव्यवस्थित र प्रयोग योग्य नभएको स्थानीय तिर्थालुहरू बताउँछन्।
सरकार वा जिम्मेवार निकायहरूले आवश्यक ध्यान नदिँदा यस्ता अमूल्य धार्मिक सम्पदा ओझेलमा पर्न थालेका छन्। पर्यटन प्रवर्द्धनको नाममा बजेट त छुट्याइन्छ, तर त्यही बजेट योजनाको नाममा केवल कागजमै खर्च भइरेहेको देखिन्छ।
एक पटक पुग्नै पर्ने स्थान
महाबु धाम केवल एउटा धार्मिक स्थल मात्र होइन, यो संस्कृति, इतिहास, आस्था र प्रकृति सबैको समागम भएको स्थान हो। मानव र प्रकृतिबीचको सम्बन्ध झल्काउने, शुद्ध आत्माको यात्रा गराउने र मनको शान्ति खोज्नेहरूका लागि महाबु एक साँचो गन्तव्य हो।
यो पवित्रस्थलको महिमा बुझ्न र महसुस गर्न, एकपटक आफ्नै पाइतालाले यो पवित्र भूमिमा टेक्नु जरुरी छ। त्यहाँ पुग्ने जो कोहीलाई आफ्ना चन्ताहरू हराएको, हृदय शान्त भएको र आत्मा शुद्ध भएको अनुभूति अवश्य हुनेछ।
-चक्र प्रसाद पोख्रेल