विश्वका ६ युद्ध रोक्न सफल ट्रम्प: नोबेल आउने पक्का

काठमाडौं : ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेविटले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नोबेल शान्ति पुरस्कार दिन अब उपयुक्त समय आएको दाबी गरेकी छन्। उनका अनुसार राष्ट्रपति ट्रम्पले विश्वका ६ वटा प्रमुख अन्तर्राष्ट्रिय विवाद समाधान गर्न सफलता हासिल गरिसकेका छन्।

प्रेस ब्रिफिङका क्रममा लेविटले भनिन्, “डोनाल्ड ट्रम्पले अहिले थाइल्याण्ड र कम्बोडिया, इजरायल र इरान, रुवाण्डा र रिपब्लिक अफ कङ्गो, भारत र पाकिस्तान, सर्बिया र कोसोभो तथा मिस्र र इथियोपियाबीचको संघर्ष अन्त्य गराएका छन्।” उनले थपिन्, “यसको अर्थ ट्रम्पले आफ्नो छैटौं महिना नपुग्दै लगभग प्रत्येक महिनामा एउटा शान्ति सम्झौता वा युद्धविराम गराएका छन्। अब उनलाई नोबेल शान्ति पुरस्कार दिइयोस् भन्ने समय आएको हो।”

mostbet

उनको यो अभिव्यक्तिसँगै ट्रम्प समर्थकहरू उत्साहित देखिएका छन् भने आलोचकहरू भने शंकासहित टिप्पणी गरिरहेका छन्। विशेषतः गाजा युद्धजस्तो संवेदनशील विषयमा ट्रम्पले स्पष्ट धारणा नदिएको भन्दै उनको आलोचना भइरहेको छ। हजारौं सर्वसाधारणको ज्यान लिएको गाजा युद्धबारे लेविटले कुनै प्रतिक्रिया दिएकी छैनन्।

यसबीच, ट्रम्पले गाजामा इजरायली आक्रमण नरोके बेलायत र क्यानडाले प्यालेस्टाइनलाई स्वतन्त्र राष्ट्रको मान्यता दिने तयारी गरिरहेको प्रसंगमा ती मुलुकहरूमाथि भन्सार शुल्क बढाउने चेतावनी दिएका छन्।

यसअघि पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफ र इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले पनि ट्रम्पलाई नोबेल शान्ति पुरस्कारका लागि सिफारिस गरिसकेका छन्। यस्तोमा ह्वाइट हाउसको पछिल्लो अभिव्यक्तिले अन्तर्राष्ट्रिय कूटनीतिक वृत्तमा नयाँ बहस सिर्जना गरेको छ।