
सुर्खेत : गए राति जाजरकोट र रुकुमपश्चिमको सीमा क्षेत्रमा रहेको भेरी नदीमा टिपर खस्दा तीन जना बेपत्ता भएका छन्। बेपत्ताको हालसम्म अवस्था अज्ञात रहेको प्रहरीले जनाएको छ।
जाजरकोटको नलगाड नगरपालिका, दल्लीबाट रिम्नातर्फ गइरहेको रा १ क १५०१ नम्बरको टिपर भेरी करिडोर निर्माणमा संलग्न निर्माण कम्पनी यती विल्डर्सको भएको जनाइएको छ। सो टिपर रुकुमपश्चिमको आठबीसकोट–१४, पिपलचौरस्थित भेरी नदीमा खसेको इलाका प्रहरी कार्यालय रिम्नाका प्रहरी नायब निरीक्षक शिउकुमार चौधरीले जानकारी दिएका छन्।
प्रहरीका अनुसार टिपरमा चालकसहित तीन जना सवार थिए। उनीहरुको पहिचान खुल्न नसकेको र हालसम्म अवस्था अज्ञात रहेको छ। रुकुमपश्चिम र जाजरकोटबाट खटिएका सुरक्षा टोलीले खोजी कार्य जारी राखेको बताइएको छ।
प्रवक्त चौधरीका अनुसार, भेरी नदीमा हाल पानीको सतह अत्यधिक रहेको र बाढीको तीव्र प्रवाहका कारण खोजी कार्यमा गम्भीर कठिनाइ भैरहेको छ।
स्थानीय प्रशासन, प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा जिवित वा मृत अवस्थाको खोजी कार्य तीव्र बनाइएको छ। यद्यपि पानीको बहाव र नदीको गहिराइ खोजी कार्यमा चुनौतीको मुख्य कारण बनेको जनाइएको छ।
स्मरणीय छ, वर्षायाममा नदी किनारमा हुने निर्माण कार्य, ढुवानी तथा सवारी आवागमनमा जोखिम बढ्ने हुँदा यस्ता घटनाको सम्भावना उच्च रहन्छ। प्रहरी प्रशासनले अत्यधिक सावधानी अपनाउन आग्रह गरेको छ।