‘मेरो भ्वाइस यूनिभर्स–२’ मा स्याङ्जाका विशाल रानाभाट : जिताऔँ अभियान सुरु

निराज रानाभाट
स्याङ्जा : स्याङ्जा जिल्लाका उदाउँदा गायक विशाल रानाभाट नेपाल टेलिभिजनबाट प्रशारण भइरहेको अन्तर्राष्ट्रिय रियालिटी शो ‘मेरो भ्वाइस यूनिभर्स – सिजन २’ को उत्कृष्ट १४ मा स्थान बनाउन सफल भएका छन्। उत्कृष्ट प्रतिभाको खोजी गर्ने यो प्रतिष्ठित गायन प्रतियोगितामा अब निर्णायकको ५० प्रतिशत र दर्शकको ५० प्रतिशत मतको आधारमा अगाडिको यात्रा तय हुँदैछ।

त्यसैले रानाभाटको जन्म जिल्ला स्याङ्जाबाट ‘विशाल रानाभाट जिताऔँ अभियान’ औपचारिक रूपमा सुरु गरिएको छ। उक्त अभियान मार्फत नेपाली संगीतप्रेमी तथा शुभेच्छुकहरूलाई भोट दिने तरिका र महत्त्वबारे जानकारी दिइँदैछ। “रकमको भरमा प्रतिभा ओझेलमा पर्न नपरोस् भनेर हामीले अभियान चलाएका हौं,” अभियानकर्मी किरण रानाभाटले बताए।

भोट गर्ने तरिका यस्तो छ :
प्रतियोगी विशाल रानाभाटलाई भोट गर्न दुईवटा माध्यम उपलब्ध छन् :

मोबाइलको म्यासेज बक्समा गएर MVU 02 टाइप गरी 37000 मा पठाउने।

मोबाइलको Play Store बाट My Intra-F App डाउनलोड गरी एक निःशुल्क भोट गर्न सकिने र आवश्यक परे थप भोट खरिद गरेर पनि गर्न सकिने व्यवस्था गरिएको छ।

यो प्रतियोगिता इन्ट्रा नेसनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन द्वारा आयोजित हो, जसमा नेपालसहित भारत, दुबई, कतार, थाइल्याण्ड, अस्ट्रेलिया, जापान, पोर्चुगल, बेलायत, अमेरिका, हङकङ लगायत २३ देशका नेपाली मूलका प्रतिभावान गायक–गायिकाहरू प्रतिस्पर्धामा छन्। अडिसन राउण्ड १३ देशमा सम्पन्न भई अहिले उत्कृष्ट १४ मा प्रतिस्पर्धा तीव्र बनेको छ।

नेपाल अडिसनबाट छनोट भएका विशाल रानाभाटले आफ्नो क्षमता, स्वर र प्रस्तुतिबाट निर्णायक र दर्शकहरूको मन जित्दै अहिले भोटिङ राउण्डमा प्रवेश गरेका छन्। विजेताले नगद १ करोड रुपैयाँसहित विभिन्न पुरस्कार प्राप्त गर्नेछन्। साथै यो रियालिटी शोले नेपाली संगीत, संस्कृतिलाई विश्वभर फैलाउने उद्देश्य बोकेको छ।

गायक विशाल रानाभाटको अपिल :
“नमस्कार !
सम्पूर्णमा यहाँहरूको माया, साथ र समर्थनले म मेरो भ्वाइस युनिभर्स सिजन २ को भोटिङ राउण्डसम्म आइपुगेको छु। अबको राउण्डमा तपाईंहरूको एक भोटले ठूलो अर्थ राख्नेछ। त्यसैले यो भन्दा अगाडि बढ्न यहाँहरूको माया स्वरूप धेरै भन्दा धेरै भोट गरिदिन विनम्र अनुरोध गर्दछु। आगामी दिनहरूमा तपाईंहरूको निरन्तर साथ, स्नेह र समर्थनको अपेक्षा राखेको छु।”