
धादिङ : धादिङको थाक्रे गाउँपालिका क्षेत्रका बासिन्दाहरू पछिल्ला दिनहरूमा बारम्बार भइरहेको विद्युत अवरुद्धका कारण दैनिक जीवन अस्तव्यस्त भएको गुनासो गरिरहेका छन्।
स्थानीयको भनाइमा, एकै दिनमा ५ देखि ६ पटकसम्म बत्ती जाँदा घरायसी काम, व्यवसाय, विद्यालयको पठनपाठनदेखि लिएर विद्युतीय उपकरणसमेत प्रभावित भएका छन्।
“बिजुली कहिले आउँछ, कहिले जान्छ थाहा नै हुँदैन। खाना पकाउने, मोबाइल चार्ज गर्ने, पंखा चलाउने सबै काम प्रभावित भइराखेको छ,”थाक्रे–६ का स्थानीय सविन तामाङले गुनासो गरे।
गाउँपालिकाभर यस्तो समस्या व्यापक देखिएको उनले बताए । स्थानीय स्कूल र कार्यालयहरू समेत कार्यसम्पादनमा समस्या भोगिरहेका छन्।
धेरैले त अनुमान गर्न थालेका छन् कि लोड व्यवस्थापनमा लापरवाही, साना ट्रान्सफर्मर र लाइन मर्मतसम्भार नगरेको र कर्मचारिहरुको लापरबाहीको कारण यस्तो समस्या आइरहेको हो।
स्थानीय प्रतिनिधिहरूले समस्या समाधानको माग गर्दै चाँडै प्राधिकरणसँग औपचारिक छलफल गर्ने जनाएका छन्।