
वीरेन्द्रनगर : कर्णाली प्रदेश सरकारले प्रदेशभर कार्यरत पत्रकारहरुको स्वास्थ्य सुरक्षाका लागि स्वास्थ्य बिमा कार्यक्रम सुरु गरेको छ। आन्तरिक मामिला तथा कानुन मन्त्रालयको अगुवाइमा सञ्चालित उक्त योजनाले सञ्चारकर्मीहरुको सामाजिक सुरक्षालाई प्राथमिकता दिएको छ।
शुक्रबार एक औपचारिक कार्यक्रमका बीच मन्त्रालयका निमित्त सचिव उत्तम गौतम, राष्ट्रिय बिमा कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत सुवास कोइराला र नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समितिका महासचिव खगेन्द्रप्रसाद भट्टराईबीच त्रिपक्षीय सम्झौता भएको हो।
मन्त्रालयका अनुसार आर्थिक वर्ष २०८१/०८२ मा “पत्रकार स्वास्थ्य बिमा कार्यक्रम”का लागि १५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो। यही बजेटमार्फत प्रदेशभरिका पत्रकारहरुलाई प्रतिव्यक्ति ७० हजार रुपैयाँ बराबरको स्वास्थ्य बिमा सुविधा उपलब्ध गराइनेछ।
६९३ पत्रकारहरू सहभागी
महासचिव भट्टराईका अनुसार हालसम्म ६ सय ९३ जना पत्रकारहरूलाई बिमा कार्यक्रममा समेटिएको छ। महासंघका सदस्य मात्र नभई सक्रिय पत्रकारितामा संलग्न अन्य पत्रकारहरूलाई पनि समावेश गरिएको छ।
“दीर्घरोगी होस् वा आकस्मिक बिरामी, कर्णालीका पत्रकारहरूले सरकारी निकायमा दर्ता भएका जुनसुकै स्वास्थ्य संस्थाबाट उपचार गराएपछि बिलसहित दाबी गर्न सक्नेछन्,” भट्टराईले बताए।
उनका अनुसार, बिरामी भएको ६० दिनभित्र र डिस्चार्ज भएको ३५ दिनभित्र बिमा कम्पनीमा जानकारी गराउनु पर्नेछ। ओपिडी (बाह्य बिरामी) सेवाको हकमा २० प्रतिशत र स्वास्थ्य संस्थामा भर्ना भएमा ८० प्रतिशत खर्च बिमा रकमले व्यहोर्नेछ। यसमा स्वास्थ्य परीक्षणदेखि औषधिसम्म समेटिएको छ।
२ हजार रुपैयाँ शुल्कमा बिमा
राष्ट्रिय बिमा कम्पनीकी बजार विभाग प्रमुख हिरा कुमारी बर्तौलाका अनुसार प्रतिव्यक्ति २ हजार रुपैयाँ बिमा शुल्क लिई बिमा सम्झौता गरिएको हो। खर्च भएको रकम बिलसहित कम्पनीमा पेश गरेपछि पत्रकारले भुक्तानी पाउनेछन्। पत्रकार महासंघको सिफारिस आवश्यक पर्नेछ।
निमित्त सचिव गौतमले बताएअनुसार, आमसञ्चार क्षेत्रको प्रवर्द्धन तथा पत्रकारहरूको पेशागत सुरक्षाका लागि मन्त्रालयले यो कार्यक्रम ल्याएको हो। कार्यक्रमबाट ७ सयभन्दा बढी पत्रकार लाभान्वित हुने अपेक्षा गरिएको छ।