१२ औ म्युजिक खवर म्युजिक अवार्ड भव्य रुपमा सम्पन्न, सुगम संगीत तर्फ बबिना भट्टराई सर्वोत्कृष्ट

काठमाडौंः १२औं म्यूजिक खबर म्यूजिक अवार्ड २०८१ भव्य रुपमा सम्पन्न भएको छ । राजधानीको तिलगंगा स्थित बेस्ट वेर्स्टन प्लस होटलमा आयोजित कार्यक्रममा म्यूजिक खबर अवार्डका सल्लाहकार राधेश्याम लेकालीको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेको प्रमुख आतिथ्यता रहेको थियो ।
उक्त अवार्ड कार्यक्रममा सुगम संगीत तर्फ गायिकामा बबिना भट्टराई सर्वोत्कृष्ट भएकी छिन् । सरला श्रेष्ठको शब्द रचना रहेको ‘गुनासो’ बोल को गीतका लागि उनी सर्वोत्कष्ट भएकी हुन् । उक्त विधामा बबिना भट्टराईको गुनासो, निखिता थापाको लाजले झुके, एलिना चौहानको तिमी विना चल्दैन, शोभा पाण्डेको ए मन, सदिक्षा कट्टेलको कलेजी खाइहाल्यो बोलका गीतहरु उत्कृष्ट पाँचको मनोनयनमा परेका थिए ।

गुनासो कस्तो गीत हो ?

गुनासो तिमीसंग केही छैन, तिमी म संग टाढिंदै गयौ
धेरै रोएँ तिम्रो लागि, तिमी भने किन हाँसेरै गयौ….

भेट फेरि होला नहोला, फर्किंदैन बगेको खोला
ती मीठा मीठा पलहरुलाई मायाँको चिनो छोडेरै गयौ

जहाँ छौ तिमी खुशी रहनु मलाई सम्भिएर कहिल्यै नरुनु
नमेटिने ती छापहरु यो दिल भरि टाँसेरै गयौ …..

मेरो मायामा स्वार्थ कुनै छैन, त्यो तिमीले नबुझेको हैन
तिमी आँफू मात्रै गएनौ मेरो मुटुलाई साथै लिएरै गयौ….

टाढिनु, छुट्टिनु वा अलग्गिनु कुनै पनि सम्वन्धको लागि सुखद् होइन झन् माया पिरतीमा त यी शब्दहरु मुटु विझाउने शब्द हुन् । आँफूले मनमा सजाएकी, मनले पल पल सम्झिरहने, मन भित्रै अटाएकी, मनले रुचाएकी आफ्‌नी प्रेयसी या प्रेमी टाढिदाको भाव यी हरफहरुले बोलेका छन् । यसरी मनमा सजिएकी प्यारी व्यक्ति एकाएक टाढिदा साच्ची नै मन विह्ल हुन्छ, विह्ल मन भक्कानिदा नयनबाट अश्रुधारा बहेको पनि पत्तो हुदैन, उनको याद यति गाढा बनिदिन्छ अव त रुँदिन भन्दा पनि आँसु खसेको पत्तो हुदैन, आँफूले मन भरि सजाएकी उनी संगको यो दूरता उसलाई असाध्यै बिझाएको छ, उनलाई नसम्झिकन उसको मन मान्दै मान्दैन, जहाँ गए जसो गरे पनि उसलाई उनको यादले पछ्याइरहन्छ, सताइरहन्छ ।


उनका यादहरु बेस्सरी सल्बलाएर मुटु जलेर खरानी भएको पनि पत्तो हुदैन, आफ्‌नो मन यति विह्ल हुदाँहुदै पनि उनको मनमा कुनै प्रेमिल भाव नआउँदा आफ्‌ना प्रेमिल शब्द पनि उनको लागि काँडा बनेको अनि आफ्‌ना आँसुका लहरहरु उनको खुसीमा बाधा बनेको महशुष हुन्छ अनि एउटा पागल प्रेमी उनको खुसीको लागि आफ्‌नो प्रेमको बलिदान दिदै उनी टाढिनुमा पनि कुनै गुनासो गर्दैन । संगालेको भए देखि सागर बन्ने आफ्‌ना आँसुका लहरहरु देखिरहदा पनि उनी हाँसिहाँसी बाटो मोडेर गएको देख्दा पनि उ चुपचाप सहिरहन्छ । जसरी बगेको खोला कहिल्यै फर्कदैन त्यसरी नै उनी पनि फर्किन्नन् भन्ने पनि उसलाई थाहा छ, अव उसको लागि विगतमा उनले दिएकी ती प्रेमिलभावका संस्मरण भन्दा बाँकी केहि पनि छैन, ती अमृत भन्दा पनि मीठा मायाका पलहरुलाई नै उसले चिनो ठानेको छ, उनले दिएकी ती स्वर्णिम पलहरुलाई सम्झदै ऊ आफ्‌नो सारा जीवन एक्लै कटाउन तयार छ तर उनी संग कुनै गुनासो भने उसको छैन । केहि गुनासो नगरिकन ऊ उनको खुसीको कामना गरिरहन्छ ।


सायद उसले बुझेको छ प्रेम प्राप्ति मात्र होइन त्याग पनि हो, प्रेममा प्राप्ति मात्रै उपलब्धि होइन केहि प्राप्तिको आशा नराखि आँफूले प्रेम गरेको प्रतिको प्रेमिल भाव नै सबै हो, त्यसैले त उसलाई हाँसिहाँसि आँफूलाई छोडेर जाने प्रति पनि कुनै गुनासो छैन । आखिर विगतका प्रेमिल भाव त उनको मनमा पनि त छ नि, उनलाई पनि कुनै बेला ती यादहरुले पिरोल्न सक्छ, दुःख दिन सक्छ, रुवाउन सक्छ, मन न हो, पग्लिन सक्छ, फर्किन सक्छ ..तर आँफूलाई छोडेर, बाटो मोडेर जानेलाई ऊ आफै सम्झाउदैछ मलाई सम्झेर दुःखी नहुनु, जहाँ छ्यौ खुसी हुनु, सम्झेर कहिल्यै नरुनु ….
उसको मायामा न कुनै स्वार्थ थियो न त कुनै लालसा, न कुनै चाह थियो न कुनै आकांक्षा, उसले त निःस्वार्थ माया गरेको थियो, सकेसम्म उनलाई खुसी दिने प्रयास गरेको थियो । उसका मनका यी सबै भाव उनले बुझेकी थिइन्, यति बुझ्‌दा बुझ्‌दै पनि उनले बाटो मोडेकी थिइन्, उनी आँफू त बाटो मोडेर नफर्कने गरि गइन् उनले उसको मुटु पनि संगै लिएर गइन् । थाहा छैन अव त्यो मुटु उनले कागती सम्झेर निचोर्छिन् कि ? भुङ्ग्रोमा खसाल्छिन् कि ? लिलामीमा राख्छिन् ? तर उसले भने अव कहिल्यै उनको प्रेमिल भाव पाउने छैन । अव त उ एक्लै रुनु छ, हररात सिरानी भिजाउनु छ, छट्पटिमै रात विताउनु छ, उसलाई त दिन पनि रात जस्तै अन्धकार छ । थाहा छ उनी विना बाच्नु बेकार छ र पनि उ उनीलाई कुनै गुनासो नगरिकन बाँच्न विवश छ ।


गीतकार सरला श्रेष्ठ आफ्‌नो गीत ‘गुनासो’ लाई प्रेम प्रति समर्पित गीत भएको बताउँछिन् । गीतले मिलन र विछोड दुवै भावलाई समेटेको छ । यो गीतको एउटा पाटोले विरहको भाव बोलेको छ भने अर्को पाटोले प्रेम प्रतिको समर्पित भाव बोलेको छ । आँफूले असाध्यै माया गरेको मान्छे अनि आँफूलाई पनि माया गर्ने मान्छेलाई छोडेर उनी टाढिनु दुःखद् हो भने उनी यसरी टाँढिदा पनि उनी प्रति आफ्‌नो मनमा प्रेमिल भाव उब्जाइरहने, उनी टाढिए पनि गुनासो नगर्ने, उनलाई सुखी र खुसी देख्न चाहिरहने, उनको आँखामा आँसु देख्न नचाहने उसको भाव प्रेमिल भाव हो, सकारात्मक भाव हो भन्ने गीतकार सरला श्रेष्ठको धारणा रहेको छ ।
‘शारदा’ साहित्यिक मासिकको पूर्णाङ्क ११५, २०८० कार्तिक अंकमा छापिएका सरला श्रेष्ठका विवधतायुक्त गीतहरु मध्ये उक्त मासिक पत्रिकाको पृष्ठ ५३ मा छापिएको यो गीत गीतकार सरला श्रेष्ठको अफिसियल युटुव च्यानल मार्फत सार्वजानिक गरिएको थियो । उक्त गीतको एरेन्ज साहस शाक्यले गरेका छन् भने मिक्सिङ र मास्टरिङ प्रकाश खरेलको रहेको छ । म्युजिक नेपालको स्टुडियो, अनामनगरमा नकुल कार्कीले रेकर्डिङ गरेका उक्त गीतको भिडियो जस्केलो क्रियशनद्धारा निर्माण गरिएको हो । गीतको भिडियोमा बबिना आफै फिचर्ड छिन् ।

चर्चित गायिका अञ्ज पन्त र बबिना भट्टराई

सरला श्रेष्ठका सरल एवं मार्मिक शब्दहरुमा आफ्‌नो संगीत र स्वर दिन पाउँदा आँफू आनन्दित भएको गायिका तथा संगीतकार बबिना भट्टराई बताउँछिन् । सरल भाव र सरल व्यक्तित्व सरला श्रेष्ठका सरल शब्दहरुले आँफूलाई लोभ्याएको बताउने बबिना सरला श्रेष्ठका गीतहरुले समाज बोलेको, नारी मनोभावना बोलेको तथा प्रेमिल भावको अभिव्यक्ति दिएको आँफूलाई महशुष भएको र वहाँका धेरै गीतहरु सुन्दा तथा अध्ययन गर्दा आफ्‌नै जीवन अनि आफ्‌नै समाज बोलेको अनुभूत भएको बताउँछिन् । उनी भन्छिन् ‘वहाँ संगको पहिलो सहकार्य मेरो लागि निकै सुखद् एवं अविश्मरणीय रह्यो । आगामी यात्राहरु पनि यस्तै सुखद् हुने विश्वास लिएकी छु ।’ त्यस्तै गीतकार सरला श्रेष्ठ बबिनाको स्वर र संगीतले आफ्‌ना शब्दहरुले जीवन्तता पाएको बताउँदै भन्छिन् ‘बबिना एउटा सम्भावना बोकेकी गायिका तथा संगीतकार हुन्, नगन्य मात्रामा महिला संगीतकारहरु भएको अवस्थामा बबिनाको उपस्थितिले नेपाली संगीत क्षेत्र सिंगारिने विश्वास लिएकी छु साथै आगामी दिनहरुमा पनि बबिनाको यस्तै साथले मेरा शब्दहरुलाई जीवन्तता दिई नेपाली दर्शक श्रोताहरु माझ ल्याउन सघाउ पुग्ने आशा लिएकी छु ।’


बबिनाको संगीत यात्रा

‘हसाउँछौ तिम्रै मर्जी, रुवाउँछौ तिम्रै मर्जी….’ बोलको अविनाश थापाको शब्दमा पहिलो गीत गाएकी बबिनाकोे १६ वर्ष भन्दा बढिको संगीत यात्रामा विभिन्न गीत तथा भजनहरुमा स्वर तथा संगीत दिएर उनले नेपाली श्रोता, दर्शकको अपार माया पाएकी छिन् । सुगम संगीत तथा भक्ति संगीत पारखी दर्शक तथा स्रोताको मुटुको ढुकढुकी बनेकी छिन् । संगीत क्षेत्रबाट चरमचुलीमा पुग्ने जीवनको अभिष्ट लिएर संगीतयात्रामा यात्रारत् बबिनाका भगवान श्री कृष्णका भजनहरु काले काले कृष्ण, मधुराष्टकम्, महामन्त्रको रुपमा जपिने हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे ..हरे राम हरे राम राम राम हरे हरे, अच्युतम् केशवम् रामानारायणम्, श्री कृष्ण गोविन्द हरे मुरारे, अच्युताष्टकम लगायत भगवान श्री राम, महादेव, हनुमान चालिसा, दुर्गा भजन, गायत्री मन्त्र लगायतका विभिन्न भजनहरु बीणा भक्ति युट्व च्यानलमा संग्रहित रहेका छन् भने पछिल्लो समय बबिना भट्राईको आफ्‌नै आध्यात्मिक युट्युव च्यानल श्री भजन्स् मार्फत उनका भजनहरु सार्वजनिक हुदै आएका छन् । महाशिवरात्री पर्वको अवसरमा शिव भजन ‘जय जय शम्भु’ र राम नवमीको अवसरमा ‘मनमा बसाएर राम’ श्री भजन्स् युट्व च्यानल मार्फत सार्वजनिक भइसकेका छन् । भजन गायनमा विशेष रुचि राख्दै विभिन्न धार्मिक पर्वहरुमा सान्दर्भिक भजनहरु सार्वजनिक गर्दै आएकी बबिनाका आगामी भजनहरु दर्शक, श्रोताहरुले उनको आफ्‌नै भजन च्यानल ‘श्री भजन्स्‌’ मार्फत हेर्न र सुन्न सक्नेछन् भने उनका व्यवसायिक गीतहरु उनको आफ्‌नै ‘बबिना भट्टराई’ युट्व च्यानल मार्फत सार्वजानिक हुदै आएका छन् ।

नेपाली संगीत क्षेत्रको इतिहासमा नै लमजुङका चारुकार लक्ष्मी प्रसाद मिश्रको शब्द रहेको पहिलो ‘चारु’ मा संगीत तथा स्वर दिएर उनले नेपाली चारु गायन तथा संगीतमा आँफूलाई पहिलो ‘चारु’ गायिका तथा संगीतकारको रुपमा स्थापित गरेकी छिन् । भर्खरै म्युजिक नेपालको स्टुडियोमा कुमार महाराज, विकास सुनार र रत्नका साथमा उनको नयाँ एवं फरक गीत ‘अपराजिता’ मा बाजाको तालमेल मिलाएर समाजसेवी एवं बालचिकित्सक अपराजिता अधिकारीको स्मृतिमा हरिराम पौडेलले लेखेका मार्मिक शब्दहरुमा आफ्‌नो संगीत सहित स्वर भरेकी छिन् भने हालसालै उनको छमछम नाच्न मिल्ने भावको वि.वि. थापाको शब्दमा रहेको गीत ‘अल्लारे’ सार्वजनिक भएको छ । यसर्थ गायिका तथा संगीतकार बबिना भट्टराई ‘अल्लारे’ जस्तो छमछम नचाउने गीत अनि महफिलको अनुभुति हुने ‘मदहोस’ गजल, अपराजिता जस्तो स्मृति समेटिएको गीत, ‘पिरतीको गीत’ जस्तो प्रेमिल गीत, ‘के हुन्छ होला’ जस्तो जीवन दर्शनको गीत, ‘तिमी नमर्नु है’ जस्तो सन्देशमुलक गीत र बालबालिकाको जिव्रोमा झुण्डिने दर्जनौ बालगीत गाउन सक्ने त्यस्ता भावका गीतमा संगीत भर्न सक्ने खुवी भएकी भर्खटाइल गायिका हुन् भन्ने पुष्टि गरेको छ । साथै उनी हालसालै सम्पन्न संगीतकार संघ नेपालको साधारणसभाबाट सर्वसम्मत रुपमा कार्य समितिमा निर्वाचित भएकी छिन् ।

गुनासो हेर्नुहोस् !