डा. छवि वैरागी घिमिरेको जीवनी, व्यक्तित्व र कृतित्वको अध्ययन

मानिस सामाजिक प्राणी भएका नाताले ऊ समाजबाट कहिल्यै पनि अलग्ग वा टाढा रहनै सक्तैन । समाजको एक अभिन्न अङ्ग पनि हो मानिस । त्यसैले मानिसको व्यक्तित्व निर्माणमा सबैभन्दा पहिलो आफ्नै परिवार, उसले अध्ययन गरेका शैक्षिक संस्थाहरू तथा पछि उसले अवलम्बन गर्ने बाटाले पनि महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने गर्छ भनिएको हो । भनिन्छ, व्यक्तित्व निर्माणमा एकरूपता र अनुरूपताको पनि केही भूमिका रहने गर्छ ।

यहाँ डा. छवि वैरागी घिमिरेको व्यक्तित्वलाई व्यक्तिगत, सामाजिक र साहित्यिक गरी विभिन्न आयाममा अध्ययन गरिएको छ :

छवि वैरागीको व्यक्तिगत जीवन
क) जन्म तथा बाल्यकाल : छवि वैरागी घिमिरेको जन्म साबिकको लेखर्क गाउँपञ्चायत –६, काभ्रे, भोजपुर, (हालको टेम्केमयुङ गाउँपालिका –५,) भोजपुरमा माता माया घिमिरे र पिता कृष्णप्रसाद घिमिरेका तेस्रा सन्तानका रूपमा भएको हो । उनी परिवारका कान्छा छोरा हुन् । २०४२ सालमा, ११ वर्षको हुँदा उनको परिवार जन्मस्थल छोडेर साबिकको सुन्दरपुर, गाविस, हालको सुन्दरहरैँचा –६, भीमचौरीमा बसोबास गर्न पुग्छ । त्यहाँ केही वर्ष बसेर २०४७ सालबाट सलकपुर आउँछ र त्यहाँ आठ वर्ष बस्छ र लेटाङ जान्छ । २०५५ देखि २०६० सम्म लेटाङमा बसेर त्यसपछि पुनः सुन्दरहरैँचामा आउँछ । र त्यहीँबाट आफ्नो पारिवारिक जीवन सुरु गर्छन् । हाल पनि उनको बसोबास सुन्दरहरैँचा –९, विराटचोक, मोरङमा रहेको छ ।
ख) अक्षरारम्भ तथा उच्च शिक्षा : सिंहदेवी निमावि, लेखर्क, भोजपुरबाट अक्षरारम्भ गरी हरियाणाको दाद्रीमा रहेको गुरुकुलबाट बेदमा आचार्य सम्मको शिक्षा पूरा गरेका उनी हालसालै मात्र अमेरिकाको केडारब्रुक विश्व विद्यालयबाट मानार्थ विद्यावारिधि (Honorary Doctorate) बाट सम्मानित भएका छन् । ज्योतिष शास्त्रको समेत ज्ञान लिएका उनी मुख्य पुराण बाचकसमेत हुन् ।
ग) विवाह तथा सन्तान : उनको २०५१ सालमा साबिकको मृगौलिया गाविस –६, हालको सुन्दरहरैँचा –११, मोरङ निवासी पिता मनोरथ ढकाल र माता कर्णमाया ढकालकी कान्छी छोरी तारा ढकालसँग विवाह सम्पन्न भयो । उनकी श्रीमती ताराका बारेमा कुरा गर्दा सुन्दरहरैँचा नगर कार्यपालिका सदस्य रहेर एक कार्यकाल जनप्रतिनिधिका रूपमा काम गरेकी व्यक्ति हुन् भने उनी ‘मेची महाकाली बुहारी संयुक्त आवाज मोरङ’, ‘महिला मानव अधिकार सञ्जाल मोरङ’ की अध्यक्ष तथा अन्य विभिन्न सङ्घसंस्थामा आबद्ध रहँदै आएकी छन् । उनीहरूका दुई भाइ छोरा र एक बहिनी छोरी गरी तीन जना सन्तान रहेका छन् । उनीहरूका सबै सन्तानले उच्च शिक्षा लिएका छन् र सबै जना आ-आफ्ना खुट्टामा उभिन सक्नेसमेत भएका छन् । यसरी हेर्दा डा. छवि वैरागीको वैवाहिक जीवन सफल तरिकाले बितेको देखिन्छ ।

छवि वैरागीको सामाजिक जीवन
बाल्यकालदेखि नै सामाजिक कार्यमा रमाउने छवि वैरागी विभिन्न सङ्घसंस्थाका आबद्ध रहँदै आएको देखिन्छ । विशेष गरेर उनी साहित्यिक संस्थासँग जोडिएर समाजसेवा गर्दै आएका व्यक्ति हुन् । अध्ययनको व्रmममा भारतमै रहँदा उनी ‘भारतीय संस्कृत समाज’ मा जोडिएर होस् या पछि २०६० को दशकपछि पढाइ सकेर नेपालमा फर्किएपछि होस् उनी निरन्तर रूपमा विभिन्न सङ्घसंस्थामा आबद्ध रहँदै आएका देखिन्छन् । कहीँ प्रमुख नेतृत्वमा छन् भने कहीँ सल्लाहकार । कहीँ सहयोगी त कहीँ संरक्षक तथा परिकल्पनाकारका भूमिकामा देखिएका छन् ।

२०७० को दशकपछि उनी ‘नोबेल साकोस काठमाडौँ’ मा जोडिन्छन् । त्यसपछि उनले नेपाली साहित्यमा देखिएको विकृति विसङ्गतिका विरुद्ध ‘सप्त वि साहित्य सञ्जाल काठमाडौँ’ मार्फत सक्रिय भूमिका निर्वाह गरेका छन् । उनी त्यस संस्थाका परिकल्पनाकार तथा संस्थापक संरक्षकसमेत हुन् ।

‘मधुवन गोधूलिको साथी साहित्य समूह’ मार्फत उनी नेपाली गजलमा जोडिन पुग्छन् । यसलाई नेपाली गजलको उत्थान र विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने संस्थाका रूपमा लिइन्छ । यस संस्थाले ‘अक्षर मर्नुहुँदैन, अक्षर मर्नु भनेको स्रष्टा मर्नुसरह हो’ भन्ने विचार राख्ने गर्छ । यसको निर्माण र विकासमा उनको महत्त्वपूर्ण भूमिका रहेको छ । यस संस्थामा उनी संस्थापक तथा संरक्षकको भूमिकामा रहेका छन् ।

काठमाडौँ छोडेर मोरङ केन्द्रित साहित्यिक गतिविधि सुरु गरेपछि उनकै नेतृत्वमा ‘सुन्दरहरैँचा कला साहित्य विकास समिति’ नामक संस्थाको गठन हुन्छ । २०७७ सालमा गठन भएको यस संस्थाले नयाँ सर्जकहरूका लागि वातावरण तयार पार्ने काम गरेको छ । यसले नगरभरि रहेका लेखक तथा स्रष्टाहरूलाई समेटेर ‘सुन्दरहरैँचा दर्पण’ नामक पत्रिका प्रकाशित गरेको छ । साथै यसले अन्य संस्थासँगको सहकार्यमा पनि नेपाली भाषा, साहित्य तथा गीतसङ्गीतका कार्यक्रमसमेत गर्दै आएको छ ।

उनी विशेष गरेर समाजमा साहित्यिक चेतना फैलाउने काममा सक्रिय रहँदै आएका छन् । धेरैजसो व्यक्तिहरू आफूसँग प्रतिभा हुँदाहुँदै पनि वातावरण वा प्लेटफम नपाएर त्यत्तिकै ओझेलमा परिरहेका हुन्छन् । उनले विभिन्न संस्थाका माध्यमबाट त्यस्ता व्यक्तिलाई आवश्यक वातावरण तथा प्लेटफम निर्माण गरिदिने काम गरेका छन् ।

उनमा समाजका लागि केही गरौँ भन्ने हुटहुटी देखिन्छ । त्यही हुटहुटी पूरा गर्न उनी हरतरह लागिरहेका छन् । आफूसँग भएको जग्गाजमिन तथा पैतृक सम्पत्ति ट्रस्ट बनाएर राख्ने र त्यसले साहित्यिक गतिविधि गर्ने उनको विचार रहेको पाइन्छ । उनी अरूकै लागि बाच्न चाहन्छन् भन्ने कुराको यो गतिलो उदाहरण पनि हो । यो राम्रो सोच हो । यसले पूर्णता पाओस् भन्ने कामना छ ।

छवि वैरागीको साहित्यिक जीवन
‘के हुन्छ यो मानव’ शीर्षकको छन्द कविताबाट २०५२ सालबाट औपचारिक लेखन सुरु गरेका उनी कविता, उपन्यास, खोज अनुसन्धान, बालसाहित्य आदि विधामा कलम चलाउँछन् ।

मूलतः छन्द कविका रूपमा परिचित घिमिरेको कलम सामाजिक विषयमा चलेको देखिन्छ । यसका साथै छवि वैरागीको कलम देशप्रेम, प्रकृति प्रेमका साथै विकृति र विसङ्गतिका विरुद्ध चल्ने गरेको पाइन्छ । उनी काल्पनिकतामा रमाउँदैनन् । सामाजिक यर्थाथमा विश्वास गर्ने उनका केवल तिम्रै लागि (उपन्यास –२०६३), जून तारा (लेखसङ्ग्रह) –२०६४, पलाँता साहित्य गाथा (संयुक्त साहित्य गाथा –२०७५), माटाको आस्था (छन्द कवितासङ्ग्रह –२०७५), आहत हिपत (कवितासङ्ग्रह –२०७६), छन्दपान (कवितासङ्ग्रह तथा छन्दको व्युत्पत्ति र सिकाइ –२०७७), सुन्दरहरैँचा दर्पण (सम्पा. –२०७८), बहु आयामिक व्यक्तित्व भवनाथ घिमिरे (स्मृतिग्रन्थ –२०७९), किनारीकृत माइली (खण्डकाव्य –२०७९), सुनको गाग्री (बालकथासङ्ग्रह –२०८०), जस्ता एक दर्जनजति कृति प्रकाशित भएका छन् । त्यस्तै उनका महाकाव्य, गद्य कवितासङ्ग्रह तथा उपन्यास गरेर विभिन्न आधा दर्जनजति पुस्तक प्रकाशनको तयारीमा रहेका छन् । त्यस्तै विभिन्न पत्रपत्रिकामा उनका फुटकर रचना प्रकाशित भएका छन् ।

पुरस्कार तथा सम्मान
नेपाली साहित्यको सेवामा अनवरत रूपमा लागेका उनी ‘मधुवन गोधूलिको साथी साहित्य संस्थाबाट वर्ष व्यक्ति सम्मान तथा पुरस्कार –२०७६’, ‘नोबेल साकोस साहित्य सम्मान तथा नोबेल साहित्य पुरस्कार –२०७६’, ‘विराट साहित्य समाज (छन्द कवि सम्मान –२०७६’, ‘इटहरी काव्य पुरस्कार –२०७६’, ‘छन्द कवि विशेष सम्मान तथा पुरस्कार –२०७८’, आधुनिक साहित्य परिषद् काठमाडौँद्वारा ‘आख्यानकार विशेष सम्मान –२०७९’, ‘सुन्दरहरैँचा गजल महफिल (विशिष्ट प्रतिभा सम्मान तथा पुरस्कार –२०७९), ‘भास्करका सन्तति घिमिरे समाज (कुल दीपक सम्मान –२०७९)’, ‘नइ कीर्ति रत्न अलङ्कार पदक २०८०’ द्वारा विभूषित भइसकेका छन् । त्यस्तै हालसालै मात्र उनी ‘साहित्य गौरव स्वर्ण पदक –सन् २०२५’ बाट सम्मानित भएका छन् ।

निष्कर्ष
तीन दशकदेखि नै निरन्तर रूपमा कलम चलाउने वैरागी एक जना दीर्घ साधक हुन् । भाषा र साहित्यको विकासमा अहोरात्र खटिँदै आएका उनी एक जना साहित्यिक अभियन्ता पनि हुन् । उनी एक जना कुशल अभिभावक, प्रेरक व्यक्ति हुन् जसले क्षमता भएर पनि अवरबाट वञ्चित भएका नव सर्जकलाई साहित्यिक वातावरण निर्माण गर्ने काम गरेका छन् । लोभ, क्रोध, मोह सबै छोडेर आफूलाई साहित्य र योग साधनामा समर्पित गर्ने उनलाई एक जना त्यागी व्यक्तिका रूपमा लिन सकिन्छ । लोभ, क्रोध, मोह सबै छोडेर, सन्यास रूप धारण गरेर उनले आफ्नो उपनाम ‘वैरागी’ लाई सार्थक तुल्याउने काम गरेका छन् । अन्त्यमा, म साहित्यकार छवि वैरागी घिमिरेको थप साहित्यिक उन्नयनको कामना गर्दछु । जय साहित्य ।

– केशु विरही