दशाैं राष्ट्रिय खेलकुदको लोगो र मस्कट सार्वजनिक

काठमाडौं : कर्णाली प्रदेशमा आगामी वर्ष जेठमा हुने दशाैं राष्ट्रिय खेलकुदको लोगो र मस्कट सार्वजनिक भएको छ । मंगलबार एक कार्यक्रमका बीच लोगो र मस्कट सार्वजनिक गरिएको हो ।

युवा तथा खेलकुद मन्त्री तेजुलाल चाैधरीले रिमोट थिचेर लोगो र मस्कट सार्वजनिक गरेका हुन् । मन्त्री चाैधरीसँगै राखेप उपाध्यक्ष ध्रुव आचार्यले भाैतिक रुपमा लोगो र मस्कट अनावरण गरे । लोगो र मस्कट दुवै विकास तमकुजुले बनाएका हुन् ।

मस्कटमा रेड पाण्डा (हाब्रे) राखिएको छ भने लोगोमा ७ रङ, चन्द्र र सुर्य अंकित छ ।

दशाैं राष्ट्रिय खेलकुदका लागि खेलाडी दर्ता अनलाइनबाट हुने भएको छ । खेलाडी दर्ता पोर्टल पनि कार्यक्रममार्फत लञ्च गरिएको छ जहाँ खेलाडी र प्रशिक्षकले आफ्नो नाम दर्ता गर्ने सक्नेछन् ।

सँगै दशाैं राष्ट्रिय खेलकुदको डेडिकेटेड अनलाइन पोर्टल पनि सार्वजनिक गरिएको छ ।

दशाैं राष्ट्रिय खेलकुद २०८२ जेठ ३-१० सम्म कर्णाली प्रदेशमा हुने तय छ । खेलकुद प्रतियोगिताको मिति दोस्रोपटक सरेर तेस्रो पटक तोकिएको हो ।

सुरुमा २०८१ मंसिरमा गर्ने तय भएपनि सरेर २०८१ चैतमा पुगेको थियो । त्यसपछि फेरि सरेर २०८२ साल जेठमा हुने तय भएको थियो ।