कार्तिक ८ गतेदेखि १७ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी हुँदै

ललितपुर : फ्लोरिकल्चर एसोसिएसन नेपाल ( फ्यान ) ले तिहार लक्षित गरेर गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शन गर्ने भएको छ । पुष्प व्यवसायीहरूको छाता संगठन फ्यानले ‘ १७ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी – २०८१ ’ गर्न लागेको हो ।

फूलहरूको चाड तिहारमा ‘ रोपेर फूल गोदावरी, सजाऔं घर आँगन वरिपरि ’ भन्ने नारासाथ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी कार्तिक ८ गतेदेखि ११ गतेसम्म ललितपुरको जावलाखेलस्थित खेल मैदानमा हुने छ । उक्त प्रदर्शनीको सहयोगीको रुपमा वाग्मती प्रदेश सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय रहने छ, भने प्रायोजक संस्थाको रुपमा ओबिफर्ट प्राङ्गारिक मल तथा नेपाल थोपा सिंचाई प्रा.लि. रहने छन् ।

यस्तै, प्रदर्शनीमा ६८ वटा व्यावसायिक स्टल, २ वटा प्रतियोगितात्मक स्टल, ४ वटा अफिसियल स्टल र सेल्फी स्टल १ वटा गरी ७५ वटा प्रदर्शनी कक्ष रहने छन् । कार्तिक ८ गते बिहान ११:०० बजे हुने प्रदर्शनीको समुद्घाटन वाग्मती प्रदेश सरकार अन्तगर्तको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका मन्त्री प्रकाश श्रेष्ठले गर्ने छन् । त्यसैगरी, उक्त प्रदर्शनीमा गोदावरी फूलको विविध विधामा प्रतिस्पर्धा गराई पुरस्कृत गरिने फ्यानले जनाएको छ । यसअन्तर्गत प्रदर्शनीमा सहभागी नर्सरी / फर्महरूले उत्पादन गरेको गोदावरी फूलको ५ वटा प्रजातिमा प्रतिस्पर्धा गराइने छ । प्रतिस्पर्धामा गोदावरीको मिनियचर, स्पाइडर, रिफ्लेक्स, इन्कर्भ र गोदावरीको कट फ्लावर प्रजाति रहने छन् ।

साथै प्रदर्शनीमा सहभागी भएको नर्सरी व्यवसायीहरूलाई उत्साह थप्नका लागि उत्कृष्ट स्टलतर्फ पनि प्रतिस्पर्धा गराइने भएको छ । समग्र प्रतिस्पर्धामा प्रथम, दोस्रो, तेस्रो तथा विधागत उत्कृष्ट हुने नर्सरी / फर्मलाई सिल्ड, नगद तथा प्रमाण – पत्रद्वारा पुरस्कृत गरिने छ । त्यस्तै, प्रदर्शनीमा नेपालमा व्यावसायिक रूपमा उत्पादन हुँदै आएका र यस वर्ष भित्रिएका गोदावरी फूलको केही नयाँ प्रजातिसमेत प्रदर्शनी तथा बिक्री वितरण हुने छन् । यसका साथै यस सिजनमा फुल्ने सयपत्री, मखमली तथा अन्य सिजनल फूल बिरुवाहरुको समेत प्रदर्शनीमा हुने छन् ।

फ्यानका अनुसार यस प्रदर्शनीबाट पुष्प व्यवसाय संचालन गर्न चाहने, घर / आँगन तथा बगैंचा सजाउन चाहने, फूल बिरुवा प्रति अभिरुची राख्ने र यस सम्बन्धि ज्ञान हासिल गर्न चाहने सबैको निम्ति उपयोगी हुने छ । यसैगरी, पुष्प व्यवसायका क्षेत्रमा भए गरेका नयाँ – नयाँ प्रविधि र उपलब्धि सहितका जानकारी पनि प्रदर्शनी स्थलमा नै प्रदान गरिने छ । ४ दिने प्रदर्शनीमा ४० हजारभन्दा बढीले प्रत्यक्ष अवलोकन गर्ने साथै १ करोडभन्दा बढीको व्यावसायिक कारोबार हुने अपेक्षा गरिएको छ ।

फ्यानले पुष्प व्यवसायको व्यवसायीक विकास विस्तार तथा प्रवर्द्धन गर्ने उद्देश्यले वि.सं. २०५१ सालदेखि लगातार पुष्प मेला / प्रदर्शनीको आयोजना गर्दै आएको छ ।
फोटो : जन अपडेट डटकम