जीवनको अन्तिम अवस्थासम्म म रङ्गमञ्चमा जोडिरहन पाऊँ

वि.सं. २०४१ साउन २६ गते धरान ६, भानु चोकमा जन्मेकी पशुपति राई नेपाली रङ्गमञ्चमा सक्रिय छन् । उनका बुबाको नाम गोरमान र आमाको नाम आशामाया हो । परिवारबाट पूर्ण सहयोग पाएकी पशुपतिले बाल्यकालदेखि नै सांस्कृतिक कार्यक्रममा घुलमिल हुने मौका पाइन् । मानिविकी संकायमा स्नातक अध्ययन गर्दै गएकी पशुपती राईले अहिलेसम्म हेत्छाकुप्पा (कथा) र ध्वंच्वलेचा दुई वटा नाटकहरूको निर्देशन गरेकी छन् । उनले बागभैरव, ताराबाजी लैलै, महान् शिल्पी, अग्निको कथा, डा.कनक, बाठी रानी, खरीको घेरो, सेतो कपाल, इडिपस रेक्स, मुनामदन, घनचक्करलगायतका थुप्रै नाटकमा अभिनय गरेकी छन् । प्रस्तुत छ चन्द्रप्रसाद पाण्डेयले उनीसँग लिएको अन्तर्वार्ता :

रङ्गमञ्चमा कसरी आउनुभयो ?
म सानैदेखि नृत्यमा आकर्षित थिएँ । हाम्रो टोलमा हुने विभिन्न सांस्कृतिक कार्यक्रमहरूमा म सहभागी हुन्थेँ । धरानको नारायणी वाचनालय र भानु क्लबबाट प्राय दशैँ तिहार वा अन्य विशेष अवसरमा हुने सांस्कृतिक कार्यक्रममा यसरी सहभागी हुन पाउनु मेरो लागि ठूलो अवसर थियो । आम मानिसहरूले त्यतिबेला केटीहरू यसरी सांस्कृतिक कार्यक्रममा हिँड्नुलाई राम्रो मान्दैन थिए तर मेरा बुबा र त्यसमा पनि विशेष गरी आमाले मलाई सधैँ हौसला दिइरहनुभयो । १२, १३ वर्षको उमेर देखि म नृत्य गर्न थालेको हुँ । २०५८ सालमा अनाम नाट्य समूह धरानलाई सांस्कृतिक कार्यक्रमको लागि कलाकारहरू चाहिएको रहेछ । कर्ण सुनुवार भन्ने दाइ मरे छिमिकी दाजु र नृत्यको गुरु हुनुहुन्छ । उहाँले नै मलाई अनामसम्म पुर्याउनु भयो । अनामबाट हामी हडकड, चिन, नर्थकोरिया जस्ता ठाउँहरूमा सांस्कृतिक कार्यक्रम लिएर गयौँ । अनामबाटै मैले त्यहाँ ‘अघोषित’ (मञ्च), ‘सावधान’ (सडक) जस्ता नाटकमा भाग लिन पाएँ ।

काठमाडौको रङ्गमञ्च–यात्रामा कसरी जोडिन आइपुग्नुभयो ?
धरानमा छँदा बिना तालिम नै कला क्षेत्रमा प्रवेश गरियो । वि.सं.२०६१ सालमा आरोहण गुरुकुलले उपत्यकाबाहिरबाट रङ्गमञ्च पढ्ने विद्यार्थीहरू आह्वान गरेको थियो । अनाम नाट्य समूहमार्फत म छानिएँ । त्यसपछि मेरो औपचारिक रङ्गमञ्चको बाटो सुरु भयो ।

गुरुकुलमा केके सिक्नुभयो ?
विश्व रङ्गमञ्च, शारीरिक कला, उसु, चर्या नृत्य, स्वरसम्बन्धी क्लासहरू लिइयो । रङ्गमञ्चका आधारभूत शिक्षा लिइयो । राष्ट्र्यि अन्तराष्ट्र्यि नाटक महोत्सवमा भाग लियौँ ।

गुरुकुलले दिएको उपलब्धि के हो ?
वास्तवमा गुरुकुलले मलाई रङ्गमञ्चमा जन्म दिएको हो । रङ्गमञ्चसम्बन्धी औपचारिक अध्ययन गुरुकुलबाटै पाएकी हुँ । गुरुकुल प्रवेश गर्नुभन्दा अघि मलाई यो क्षेत्रमा लाग्छुजस्तो नै लागेको थिएन । त्यसैले मेरो पहिलो जन्म आमाबाबाले दिनुभयो भने दोस्रो जन्म गुरुकुलले दिएको हो ।

तपाईँले अभिनय गरेका नाटकहरू मध्ये सम्झन मन लाग्ने नाटक कुन हुन् ? किन ?

सत्यमोहन जोशीले लेख्नु भएको र सुनील पोखरेलले निर्देशन गर्नु भएको नाटक बाघ भैरव । किनभने गुरुकुलमा २ बर्सेतालीमपछिको हाम्रो पहिलो नाटक हो । डेनिस लोककथामा आधारित नाटक बाठिरानी जसको निर्देशन गरेको ज्याक म्याथिसन । यसमा मेरो विशेष भूमिका थियो, यो भूमिका पाउन मैले धेरै सङ्घर्ष गर्नु परेको थियो । अरू धेरै अग्रज कलाकारहरूलाई छोडेर निर्देशकले मलाई त्यो भूमिका दिएका थिए । अभि सुवेदीले लेख्नु भएको र निशा शर्माको निर्देशन रहेको नाटक मायादेवीका सपना । गुरुकुलमा धेरैपछि राम्रो र दर्शकहरूले याद गर्ने नाटक पाएको हुनाले । ब्रेटोल्ट ब्रेख्तको नाटक अ अकेसन चक सर्कलको नेपाली अनुवाद खरीको घेरो जसको निर्देशन मिया र म्याक्स नामका डेनिस र ब्रिटिस निर्देशकले गरेका थिए । चुनौतिपूर्ण भूमिका थियो यो नाटक मेरो लागि । ब्रेख्तको शैलीमा काम गर्न पाइयो, फरक शैली । यो नाटकमा मैले निर्वाह गरेको भूमिका धेरैले सम्झनु भयो जस्तो लाग्छ मलाई । त्यसैगरी मोर्टन क्रोकले निर्देशन गरेको ताराबाजी लैलै, ईब्सनको महान् शिल्पी जस्ता नाटक धेरै सम्झन्छु ।

नाटक निर्देशनमा कसरी मन गयो त ?
गुरुकुल बन्द भएपछि हामी नियमित खटेर काम गर्न पाएनौँ । फाट्टफुट्ट सडक, कचहरी नाटकहरूमा काम ग¥योैँ । २०७०मा नेपाल संगीत तथा नाट्य एकेडेमीले दोलखाको चरीकोटमा राष्ट्रिय नाटक महोत्सव गर्ने भन्ने थाहा भयो । मैले धरानका कलाकार साथीहरू लिएर ‘हेत्छाकुप्पा’ नाटक तयार पारेँ । हामी नाटक देखाउन चरीकोट पुग्यौँ । त्यहाँ दर्शकहरूले नाटक मन पराए । काठमाडौमा पनि पक्कै राम्रो मान्लान् भनेर केही कलाकारहरू परिवर्तन गरी पुनः मण्डला थिएटरमा नियमित मञ्चन ग¥योैँ । मण्डला थिएटरमा पनि नाटकले दर्शकहरूको मन जित्यो ।

ध्वंच्वलेचा नाटक चाहिँ कसरी निर्देशन गर्नुभयो ?
श्रीति प्रधानसँग मेरो पहिलेदेखि नै चिनजान थियो । उनले एकदिन फोनमा नाटक गरौँ न भन्ने कुरा निकालिन् । मेरो पनि नाटक गर्ने सोच थियो । उनलाई सत्यमोहन जोशीको नाटक ‘ध्वंच्वलेचा’ एकदम मन परेको रहेछ । उसले कथामा आधारित भएर पहिले नै केही गीत तयार पारिसकेकी रहिछ । गीतहरू सुनेँ । नाटकको कथा पहिले नै थाहा थियो किनभने यही नाटकलाई नेपालभाषामा मेरो साथी समुना केसीले केही वर्ष अघि निर्देशन गरेकी थिइ । मलाई पनि यसमा काम इच्छा भयो र शिल्पी थिएटयरमा नियमिन मञ्चन ग¥यौँ । हामीले यस नाटकलाई नेपाली भाषामा मञ्चन ग¥यौँ ।

यसमा रङ्गमञ्चको कुन शैलीको प्रयोग गर्नुभएको छ ?

यो लोकनाटक भएकोले लोकशैली मै काम गर्ने प्रयास गरेकी छु । तर, लोक परिवेशलाई जीवन्त पार्नका लागि केही प्राविधिक कुराहरूको सहयोग लिएका थियौँ । प्रोजेक्टरको माध्यमले नाटकका दृश्यहरूलाई अझै सुन्दर देखाउन सकिन्छ भन्ने लागेर नाटकभित्र रेकर्डेड दृश्यहरूको प्रयोग गरिएको थियो । कथाको मूल पात्र सुत्रकारको रूपमा पनि प्रस्तुत भएको हुनाले र सम्बादको माध्यमबाट हैन गीतको माध्यमबाट कथा भन्न गीत र संगीतको प्रयोग गरिएको थियो ।

नाटक किन गर्नुहुन्छ ?
सुरुमा त आफ्नो लागि नै हो । समाजको एउटा चेतनशील प्राणी मानिन्छ मानिस । कला भनेको जीवन जीउन सिकाउने माध्यम हो । नाटक त अझ जीवनको एकदमै नजिक छ जस्तो लाग्छ । कला मात्रै एउटा यस्तो माध्यम होला जहाँ कोही पनि ठूलो सानो वा जातीय, वर्गीय आधारमा भेदभाव हुँदैन । सबै एकैठाउँ बसेर काम गर्न सक्छन् । नाटकमा अझ धेरै समूहमा बसेर काम गर्न पर्ने हुन्छ जुन कुरा मलाई राम्रो लाग्छ । रङ्गमञ्चले गीतसंगीत, नृत्य, चित्रकाला, साहित्य सबैलाई समेटेर लान्छ ।

अहिले नेपाली रङ्गमञ्चमा भैरहेको कामलाई कसरी हेर्नु हुन्छ ?
एकदमै सकारात्मक रूपले हेरिरहेको छु । कति कुराहरूमा मेरा आफ्ना विमतिहरू छन् । तर मेरै कुरा ठीक हो भन्ने चाहिँ हैन । रङ्गमञ्चमा अभिनयका छोटा लामा तालिमहरू भैरहेको छ । तर, रङ्गमञ्चको प्राविधिक पक्षमा तालीमहरू भैरहेको छैनन् । कलाकारहरू मात्रै उत्पादन गरेर समग्र रङ्गमञ्च माथि जान्छ जस्तो मलाई लाग्दैन । नयाँ कलाकारहरूको खपत हुने ठाउँ पनि हुनु पर्छ । तर, नयाँ आउने साथीहरूले नयाँ दर्शक पनि लिएर आएका छन् । र, हामीले एकअर्काको काम हेरेर सिक्ने मौका पनि पाएका छौँ । नयाँ निर्देशकहरू आइरहेका छन् । बाहिरबाट पढेर आएका साथीहरूले पनि काम गरिरहनु भएको छ । यसले हाम्रो रङ्गमञ्चको माहौललाई सक्रिय बनाइरहेको छ । यो त राम्रो कुरा हो ।

साथीभाइहरूको माझमा अहिले भैरहेको नाटकहरूको स्तरीयताको प्रश्न पनि उठिरहेको छ नि ? स्तरीय नाटकहरू बनेका छन् कि छैनन् ?

नाटक निर्देशन गर्नु भनेको निर्देशकको एउटा विचार हो । मानिसहरू उसको विचारमा सहमत हुन पनि सक्छन् । नहुन पनि सक्छन् । तर, कसैले बनाएको नाटकले मानिसको जीवनमा कहिँनकहिँ छुनु पर्यो होला । तर, ठ्याक्कै के हो थाहा छैन । अहिले भैरहेका नाटकहरूको स्तरीयता कसरी नाम्ने ? त्यसको आधार के हो थाहा छैन । हरेक नाटकले फरकफरक जीवनलाई सम्बोधन गर्छ भन्ने लाग्छ । कहिलेकाहीँ मलाई लाग्छ स्तरीय नाटक भनेको कथा, प्रकाश, संगीत, मञ्च, कलाकार र निर्देशकको राम्रो संयोजन हो । नाटक हेरेर निस्किएका दर्शकको दिमागमा त्यसले ठाउँ पाउनु पर्यो ।

चलचित्रहरूमा पनि तपाईँ काम गरिरहनु भएको छ ? उतै व्यस्त हुने स्थिति छ कि छैन ?

चलचित्रमा अभिनय गर्नु नराम्रो मान्दिन । फरक अनुभव हुन्छ । पर्दाको महत्त्व नै फरक छ । तर, महिलाहरूको अभिनय भन्दा पनि अरू कुरा हावी हुन्छ । उहाँहरूको मापदण्डमा हामीजस्तो कलाकार पर्दैनन् जस्तो लाग्छ । कुनै कुनै भूमिका देख्दा त्यस्तो भूमिका निर्वाह गर्न पाए हुन्थ्यो जस्तो चाहिँ लाग्छ ।

चलचित्रको महत्त्वको कारणले रङ्गकर्मीहरू उता व्यस्त हुन थाले भने नाटक मै फर्किन चाहिँ गाह्रो हुने रहेछ ? सन्तुलन कसरी हुन्छ ?

गाह्रो किन हुँदो रहेछ भने उमेर हुन्जेल चलचित्र नै खेलौँ भन्ने लाग्दो रहेछ धेरैलाई । किनभने चलचित्रमा उमेरको ठूलो महत्त्व रहेछ । नाटकमा त पछि पनि काम गर्न सकिन्छ नि जस्तो लाग्दोरहेछ धेरैलाई । के लाई महत्त्व दिने भन्ने उहाँको कुरा हो । तर, सबै जना चलचित्रमै व्यस्त हुन्छन् वा प्रसिद्धि पाउँछन् भन्ने हुन्छ भन्ने लाग्दैन । केही चलचित्रमा पूर्णकालीक भए भन्दैमा रङ्गममञ्चमा काम गर्नेको अभाव हुन्छ भन्ने मलाई लाग्दैन ।

रङ्गमञ्चमा लागेर जीवन चालाउन सक्ने स्थिति छ ?
यो गम्भीर कुरा हो । सकिँदन भनौँ भने आजसम्म नाटकमै काम गरेर जीवन चलिरहेको छ । सकिन्छ भनौँ भने ढुक्क हुने स्थिति छैन ।

अहिले चलिरहेको रङ्गमञ्च परम्परा वा हाम्रो काम गर्ने शैलीलाई अझै स्तरीय बनाउन के गर्नुपर्छ जस्तो लाग्छ ?
अहिले पनि खड्किरहेको कुरा रङ्गमञ्चको स्कुलिङ हो जस्तो लाग्छ । नयाँ आउने साथीहरूको लागि स्कुलिड हुनु जरुरी छ जस्तो लाग्छ ।

रङ्गमञ्चमा तपाईंको लक्ष्य के छ ?
मञ्चमा उत्रेर राम्रो कलाकार बन्न चाहन्छु । नयाँ नयाँ काम गर्न मन लागेको छ । जीवनको अन्तिम अवस्थासम्म म थिएटरमा जोडिरहन पाऊँ भन्ने लाग्छ ।