
नेपालको संविधान २०७२ ले स्वास्थ्यलाई नैसर्गिक अधिकारको रुपमा राखेको छ ।तर पनि स्वास्थ्य क्षेत्रमा सरकारले नागरिकको चित्त बुझ्ने तरिकाले काम गर्न सकेको छैन ।स्याङ्जाको मध्यभागमा अबस्थित भीरकोट नगरपालिकाका सबैजसो वडाहरुमा सरकारी स्वास्थ्य सस्था पुगेकाछन । बालमैत्री नगरपालिका भीरकोटले गर्भवती महिलालाई पोषण भत्ता र सुत्केरी भत्ता भएपस्चात सुत्केरी प्रोत्साहन भत्ता समेत उपलब्ध गराउदै आएको छ ।यस नगरपालिकाको सबै वडाहरुमा सरकारी स्वास्थ्य सेवा पुगेको भएतापनि उपलब्ध भएका सेवाहरुको काम सुस्त हुनेगरेको छ । स्वास्थ क्षेत्रमा भीरकोट नगर अस्पतालले गरेका काम प्रभावकारी सेवा प्रवाह ,महिला स्वास्थ्यमा चालिएका कदम,सम्भावना र चुनौती विषयमा अस्पतालका डाक्टर राजिव झासङ्ग भिजन न्युज नेपाल गण्डकी प्रदेश संयोजक राजन प्रसाद पौडेलले गरेको कुराकानीको अंस ।
अस्पताललाई तीब्र गतिमा संचालन गर्न तपाईंका योजनाहरु के के छन ?
सर्वप्रथम म यस अस्पताललाई यहाँको आम बासिन्दाको लागि सर्वसुलभ तथा गुणस्तरीय सेवा प्रदान गर्ने, दोस्रो कुरा गर्भवती महिलाहरुको नियमित चेक जाँच गरि सुत्केरी गराउन पनि टाढा जानु नपर्ने वातावरण बनाउने, स्वास्थ्य विमालाई सर्वसुलभ तरिकाले कार्यान्वयन गर्ने, गुणस्तरीय औषधिहरु सुलभ दरमा उपलब्ध गराउने, प्रयोगशालालाई आधुनिकीकरण गर्दै लैजाने, आकस्मिक कक्षको ब्यबस्थापनमा अझै गतिशीलता प्रदान गर्ने योजना रहेका छन् ।
लुम्बिनी प्रदेशको सुविधासम्पन्न ठाउँमा रहनु भएको तपाईंलाई यहाँ त्यो सुविधा नहुन पनि सक्छ तपाईंलाई टिकाउन नगरपालिका र अस्पताल संचालक समितिसँग तपाईंका मागहरू केही छन् कि ?
हामीले आफूले पाएको जिम्मेवारी आफ्नो कार्यकुशलताले भ्याएसम्म पूरा गर्ने हो। पहिला लुम्बिनी प्रदेशमा हुँदै गर्दा त्यहाँको पनि स्वास्थ्य तथा सामाजिक कार्यमा आफूबाट हुने सहयोग गरेकै हो । अबको पालो भीरकोट नगर अस्पताल हेलु स्याङ्जाको हो । माग भन्ने कुरा भन्दा पनि आफूले सेवा गुणस्तरीय दिनुपर्छ, बाँकी कुराहरु त हुँदै जान्छन् ।
छ वर्ष अगाडी यही अस्पतालमा दुइ वर्ष रहँदा तपाईंले गर्नुभएको सेवा र योगदान जनमानसमा अति नै लोकप्रिय थियो । अब तपाईंको योगदान कस्तो रहन्छ ?
६ वर्ष पहिला म यहाँ आउँदा यो कालीका सामुदायिक अस्पताल थियोे । त्यसबेलामा पनि आफूले आफ्नो दायित्व कुशलतापूर्वक निर्वाह गरेकै हो ।अहिले भीरकोट नगर अस्पताल भएपछि अझै उर्जाशील भइ काम गर्ने छु भन्ने कुरा हजुरहरुलाई विश्वास दिलाउन चाहान्छु ।
अस्पताल संचालन गर्न चाहिने पूर्वाधार के के हुन् ? त्यो यहाँ छ कि छैन छैन भने के के गर्नुपर्छ ?
हाललाई यस अस्पतालमा संचालन गर्ने पूर्वाधारहरुको कमी छैन, अहिलेको यस भौतिक संरचना र उपकरणहरु तथा जनशक्तिको उपयोग गरि सेवा प्रवाह गर्न सक्षम छौँ ।
अस्पतालमा उपकरण र बेडको सुविधा भए पनि औषधि भने जस्तो नपाइने जनगुनासो छ नि ! यस विषयमा के भन्नुहुन्छ ?
यो गुनासो म आएको २/ ३ दिनसम्म थियोे तर त्यसपश्चात हाम्रो नगरपालिकाको नगरप्रमुख ज्यूको पहलमा ब्यबस्थापन भैसकेको कुरा यहाँहरु सबैलाई अवगत गराउन चाहान्छु ।
बिरामीहरुलाई आकर्षण गर्न अस्पताल प्रशासन र संचालक समितिको के के सहयोग चाहानुहुन्छ ?
अस्पताल प्रशासन र संचालक समितिले सँधै जनमानसको गुनासोलाई बुझी आफ्नो कमी कमजोरी बुझ्दै अगाडी बढ्नु पर्छ । यस अस्पतालबाट हुने सेवा प्रवाहहरु जनमानसमा पुर्याउनु पर्दछ । यसो गर्दा बिरामीहरु आफैं हाम्रो संस्थाप्रति आकर्षित हुँदै जान्छन् ।
अस्पतालको बाहिरी वातावरण के कस्तो हुनुपर्दछ ?
अस्पतालको बाह्य वातावरण स्वच्छ सफा तथा मनोरम हुनुपर्छ ।ठाउँ – ठाँउमा फ़ोहोर फाल्ने डस्ट्बिनहरु वर्गीकृत गरेर राखेको हुनुपर्छ । बिरामी तथा बिरामीका आगन्तुकहरुलाई सजिलो होस भनी ठाँउ – ठाँउमा बोर्डहरुको ब्यबस्था हुनुपर्छ । जसले गर्दा उहाँहरुलाई सेवा लिने कक्षमा जान अलमलिनु नपरोस् । अस्पतालको वरिपरि पार्किङको ब्यबस्था निश्चित ठाउँमा हुनुपर्दछ । अस्पतालको क्षेत्रमा हर्न लगाउन निषेध गर्नुपर्दछ ।
अस्पताल क्षेत्रका आम जनतालाई र बिरामीहरुलाई के भन्न चाहानुहुन्छ ?
म हजुरहरु सबैलाई सबभन्दा पहिला आफ्नो स्वास्थ्यप्रति सजग हुन अनुरोध गर्दछु । हामीले स्वास्थ्य परीक्षण बिरामी भएपछी मात्रै गर्ने परम्परालाई अन्त्य गर्दै आफूले नियमित स्वास्थ्य परीक्षण तथा चिकित्सकसँग परामर्श लिनुहुन आग्रह गर्दछु । अहिले हाम्रो भीरकोट नगर अस्पतालले पनि धेरै स्वास्थ्य सेवाहरु दिंदै आएको छ । तसर्थ यस अस्पतालमा पनि हजुरहरुले सर्वसुलभ तरिकाले सेवा लिन सक्नुहुनेछ भन्ने जानकारी गराउँछु । यस भिजन न्युज नेपाल अनलाइन पत्रीका मार्फत हामी पोषणयुक्त खाना खाऔं तथा स्वस्थ जीवनशैली बिताऔं भन्ने नाराका साथ हाम्रो कुरालाई अगाडी सार्नुभएकोमा विषेश धन्यवाद दिन चाहान्छु ।
–